Online Nepal
बिहिबार, कार्तिक ६ २०८३

कांग्रेसको द्वन्दमा फसेका ‘शुशिल’लाई बागीको डर



विराटनगर : मोरङको क्षेत्र नम्बर २ नेपाली कांग्रेसले आफ्नो आधार क्षेत्र मान्दै आइरहेको छ । पूर्व प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालादेखि आमोदप्रसाद उपाध्याय, मिनेन्द्र रिजालहुँदै अहिले यो क्षेत्रबाट सुजता कोइराला चुनावी मैदानमा छिन् । उनी गिरिजाप्रसाद कोइरालाकी छोरी हुन् ।

गिरिजाले यही क्षेत्रबाट तीनपटक चुनाव जितेर देशको प्रधानमन्त्रीसम्म भए । उनीपछि यो क्षेत्रमा आमोदले चुनाव लड्दै आए । उपाध्याय २०७० को संविधानसभा निर्वाचनमा भने पराजित भएका थिए । निरन्तर कांग्रेसले चुनाव जित्दै आएको क्षेत्रमा एमालेका ऋषिकेश पोखरेलले पहिलोपटक चुनाव जित्न सफल भएका थिए । तर, पोखरेल २०७४ को आम निर्वाचनमा भने पराजित हुन पुगे । देशभर एमाले माओवादीको बाम गठबन्धनको लहर चल्दा मोरङ–२ मा कांग्रेसका डा. मिनेन्द्र रिजाल विजयी भए ।

कांग्रेसको साख फर्काउन सफल भएका उनै रिजाल यसपटक चुनावी मैदानबाट बाहिर छन् । उनले टिकट पाएका छैनन् । आफूलाई पन्छाएर सुजता कोइरालालाई पार्टीले टिकट दिएपछि रिजाल आजका मितिसम्म मोरङ २ पुगेका छैनन् । रिजालसहित उनका निकट नेता कार्यकर्ता पनि खुलेर सुजताको चुनावी अभियानमा लागेका छैनन् ।

मोरङ क्षेत्र नम्बर २ को प्रदेश ‘क’ मा पनि २०७४ को निर्वाचनमा कांग्रेसले चुनाव जितेको थियो । एमाले माओवादीबाट उम्मेदवार बनेका माओवादी केन्द्रका गणेश उप्रेती ‘शुशिल’ कांग्रेसका शिवकुमार गनगाईसँग पराजित भएका थिए । तर, गठबन्धनको भागबन्डाबाट प्रदेश ‘क’ माओवादीको भागमा परेपछि उनै उप्रेती चुनावी मैदानमा छन् । कमजोर जनाधार भएको माओवादी प्रदेशसभा दिएको भन्दै कांग्रेसका कार्यकर्ता असन्तुष्ट छन् । कांग्रेसका दुई नेताले त बागी उम्मेदवारनै दिएका छन् । प्रदेशसभा सदस्यका उम्मेदवार उप्रेतीसँग कांग्रेसी असन्तुष्ट हुँदा उनी चुनावी अप्ठ्यारोमा परेका हुन् ।

प्रदेशसभामा तीन स्वतन्त्रसहित १२ जना चुनावी मैदानमा छन् । तीमध्ये माओवादी केन्द्रका गणेश उप्रेती र एमालेका दानबहादुर कार्कीलाई मतदाताले मुख्य प्रतिस्पर्धी ठानेका छन् ।

कांग्रेसका क्षेत्रीय प्रतिनिधि फडिन्द्र थापा र स्थानीय नेता समशेरबहादुर कार्की गठबन्धनको बागी उम्मेदवार बनेका छन् । उनीहरुले कमजोर रहेको माओवादीलाई उम्मेदवार बनाएको भन्दै स्वतन्त्र उम्मेदवारी दिएका हुन् ।

त्यसो त गठबन्धनका माओवादी उम्मेदवार उप्रेती यो क्षेत्रमा निरन्तर चुनाव हार्दै आएका नेता हुन् । २०७० सालदेखि चुनाव लड्दै आएका उनले लगातार हार व्यहोरिरहेका छन् । २०७० को दोस्रो संविधानसभाको चुनाव र २०७४ मा प्रदेससभाको चुनाव हारेका उनी लगातारको हारले जनतामाझ त्यसै पनि अलोकप्रिय बनेका छन् ।

उप्रेती गठबन्धनको साझेदार पार्टी कांग्रेसको मत पाउनेमा अहिलेसम्म विश्वस्त हुन सकेका छैन् । स्थानीय चुनावमा सिर्जित काङ्ग्रेससंगको कटुता अझसम्म मिलाउन नसक्दा उनले कांग्रेसको मत आधा पनि नपाउने स्थिति छ ।

के भएको थियो स्थानीय तहको निर्वाचनमा ?
गत बैशाखमा सम्पन्न स्थानीय तहको निर्वाचनमा रतुवामाई नगरपालिकामा कांग्रेस र माओवादीको गठबन्धन थियो । वडास्तर छाडेर यी दुई पार्टीले प्रमुख र उपप्रमुखमा गठबन्धन गरेका थिए ।

प्रमुखमा नेपाली कांग्रेसका नागेश्वरप्रसाद सिंह र उपप्रमुखमा माओवादीका सुमन कालिकोटे उम्मेदवार थिए । तर, प्रमुखमा कांग्रेसले जित्दा उपप्रमुख भने एमालेले जित्यो । उपप्रमुखमा आफ्नो पार्टी पराजित भएपछि माओवादीका कार्यकर्ताले चरम असन्तुष्ट व्यक्त गरे । कांग्रेसले आफूहरुलाई प्रयोग गरेर मत नदिएको उनीहरुको तर्क थियो ।

कतिपय कांग्रेसका नेताहरुले त मओवादीलाई जिताउन नहुने भन्दै मोर्चाबन्दी नै गरेका थिए । स्थानीय तहको चुनावमा कांग्रेसबाट धोका पाएको माओवादीले कार्यपालिकाको चुनावमा कांग्रेससँग बदला लियो ।

कार्यपालिकाको निर्वाचनमा एमाले र माओवादी मिलेर चुनाव लडेका थिए ।

प्रतिक्रिया
सम्बन्धित समाचार