उम्मेदवार मोदी र प्रश्न गर्दा कुटाई खाएका साफी
विराटनगर : सत्ता गठबन्धनका उम्मेदवारहरुको चुनावी कार्यक्रममा नेतालाई प्रश्न गर्ने एक युवकमाथि पार्टीका कार्यकर्ताले कुटपिट गरेका छन् ।
बुधबार मोरङको कटहरी ३ चम्राहीस्थित मदरसामा आयोजित चुनावी सभामा उमेदवारलाई प्रश्न गर्ने २१ वर्षीय शंकरकुमार साफीलाई नेताहरुले नै कुटपिट गरेका हुन् । मोरङ ४ का प्रतिनिधिसभा उमेदवार अमनलाल मोदीले मन्तब्य राखेपछि साफीले ‘१० वर्ष सांसद भएर के के विकास गर्नु भयो ?’ भन्ने प्रश्न गरेका थिए । माओवादी केन्द्रका उम्मेदवार मोदीले सडक, विद्यालय बनाएको जवाफ दिएका थिए ।
तर, नचिनेको युवकले प्रश्न गरेको भन्दै स्थानीयले ती युवकको खोजबिन गर्दा साफी सुनसरीको कोशी गाउंपालिका ७ हरिपुर घर भई कटहरीमा डेरामा बस्दै आएको पत्ता लागेको गियो । ‘वडा अध्यक्ष जदुलाल कामत सहितका ४, ५ जनाले कुटपिट गर्दै कार्यक्रमबाट बाहिर निकाले’ साफीले भने ‘पिट्दापिट्दै उनीहरुले फेरी प्रश्न गर्छस् ? भनेपछि मैले पनि गर्छु भने ।’ कुटपिट सुरु भएपछि कार्यक्रम नियमित हुन नसकेको बताइएको छ ।
माओबादीका केन्द्रीय सदस्यसमेत रहेका मोदीले साफीलाई चिया खान र गफ गर्न आग्रह गरेपनि साफीले अस्विकार गरेका थिए । आजसम्मा चुनावमा भोट नै नहालेको भएकाले विभिन्न जिज्ञाशा लिएर नेता समक्ष पुग्दा कुटाई खानु परेको उनको भनाई छ ।
घटनापछि गठबन्धनका कार्यकर्ताले साफीलाई प्रहरीमा बुझाएका थिए । उनलाई नियन्त्रणमा नलिई छाडिएको मोरङका प्रहरी नायव उपरीक्षक दिपक श्रेष्ठले बताए ।
स्नातक अध्ययनको तयारीमा रहेका साफी दैकिन ६० जना विद्यार्थीलाई ट्युसन पढाउंदै आएका छन् । नेतालाई नौलो मानिसले प्रश्न गरेको र पुराना कार्यकर्ता भएकैले कुटपिट गर्नु दुःखदायी भएको नेकपा एमाले कटहरीका अध्यक्ष राम राजवंशीले बताए ।