काठमाडौँ : नेपाल यूएईसँगको एक दिवसीय अन्तर्राष्ट्रिय क्रिकेट सिरिजको पहिलो खेलमा पराजित भएको छ । सोमबार भएको खेलमा घरेलु टिम नेपाल यूएईसँग ८४ रनले पराजित भएको हो ।
२६४ रनको चुनौती पछ्याउँदै ब्याटिङ गरेको नेपालले खराब प्रदर्शन गर्दै निर्धारित ५० ओभरमा ९ विकेटको क्षतिमा १७९ रन मात्रै बनाउन सक्यो । नेपालका लागि दीपेन्द्रसिंह ऐरी र अर्जुन साउदले अर्धशतक बनाए पनि टिमलाई जित दिलाउन सकेनन् ।
नेपालका दीपेन्द्रले ५४ रन बनाए । त्यस्तै, ओपनर अर्जुनले ५१ रन बनाए । अन्य खेलाडीले भने राम्रो खेल्न सकेनन् । गुल्सन झा १९ रनमा अविजित रहँदा आशिफ शेखले १२ रन बनाए । अन्य ब्याटरले भने दोहोरो अंक पनि बनाउन सकेनन् ।
बलिङतर्फ आयन अफ्जल खानले चार र बासिल हामिदले दुई विकेट लिए ।
यसअघि टीयु क्रिकेट मैदनमा टस हारेर पहिले ब्याटिङ गरेको यूएईले निर्धारित ५० ओभरमा सात विकेटको क्षतिमा २६३ रन बनाएपछि नेपालले मध्यम लक्ष्य पाएको हो ।
यूएईका लागि रोहन मुस्तफाले ५३ रन बनाए । त्यस्तै, मोहम्मद वासिमले ४४, भृत्या अरभिन्दले ४४, अलिशान शराफुले २९, अहमद राजाले २७ र आयन अफ्जल खानले २६ रन बनाए । बलिङतर्फ नेपालका गुल्सन झाले दुई, सोमपाल कामी र दीपेन्द्रसिंहले समान १–१ विकेट लिए ।
अब सिरिजको दोस्रो खेल नेपालले बुधबार खेल्नेछ ।