विराटनगर : झापाको मेचीनगरस्थित काँकडभिट्टा नाकाबाट प्रहरीले करिब १३ लाख मुल्य बराबरको एप्पल कम्पनीका मोबाइल र घडी बरामद गरेको छ ।
विशेष सूचनाका आधारमा जिल्ला प्रहरी कार्यालय झापा र इलाका प्रहरी कार्यालय काँकडभिट्टाबाट खटिएको प्रहरी टोलीले मेचीनगर–६ बाट एप्पल कम्पनीका २५ वटा पुराना आइफोन र एप्पल कम्पनीका १३ थान घडी बरामद गरेको हो ।
झापा प्रहरीका अनुसार बरामद गरिएको मोबाइल ६ लाख २५ हजार र घडी ६ लाख ५० हजार मूल्याङ्कन गरिएको छ ।
भन्सार छली गरी भारतबाट नेपाल ल्याउँदै गर्दा काँकडभिट्टा नाकामा प्रहरी देख्नसाथ मोबाइल र घडी छाडेर तस्कर फरार भएका छन् ।
बरामद गरिएको मोवाइल र घडी आवश्यक कारबाहीका लागि मेची भन्सार कार्यालय काँकडभिट्टामा बुझाइसकेको प्रहरीले जनाएको छ ।