विराटनगर : नेकपा एमालेबाट टिकट नपाएपछि स्वतन्त्र उम्मेदवारी दिएका समाजसेवी योगेन्द्र मण्डलको चुनावी अभियानमा आश्चर्यजनक समर्थन देखिन थालेको छ । समाजसेवा र राजनीति मोरङ-५ बाटै सुरु गरेका योगेन्द्रले त्यस क्षेत्रमा गरेको योगदानकै कारण उनी चुनावमा अरु प्रतिस्पर्धिलाई उछिन्ने अभियानमा छन् ।
चापाकल चुनाव चिन्ह लिएर उठेका मण्डल भन्छन्, ‘मैले सेवा र राजनीति यही ठाउँबाट गरेको हुँ र मैले यस क्षेत्रको जनताको जीवनस्तर उकास्न मेहनत गरिरहेको छु, त्यसैले पनि यसपटक मलाई यहाँका जनताले माया गर्नेछन् ।’
रंगेलीका सुरज मण्डल यसपटक मोरङ-५ मा स्वतन्त्रको माहौल बढेको बताउँछन् । यस क्षेत्रमा स्वतन्त्रको माहौल बढ्नुमा क्षेत्र नम्बर-५ मा योगेन्द्रको सामाजिक अभियाननै महत्वपूर्ण भएको उनको तर्क छ ।
त्यस क्षेत्रमा गठबन्धनबाट विगतमा धेरै पटक चुनाव जितेका माओवादी केन्द्रका शिवकुमार मण्डल र एमाले जसपा गठबन्धनबाट राजकुमार यादव उम्मेदवार छन् । गाउँका भित्रभित्र योगेन्द्रका प्रचारक र बाहिरबाहिर गठबन्धनको प्रचारक देखिएको स्थानीयहरु बताउँछन् ।