Online Nepal
बिहिबार, कार्तिक ६ २०८३

समाज बदल्ने संकल्पसहित राजनीतिमा होमिएका राठी



विराटनगर : विराटनगरले आज जे सोच्छ, जे बोल्छ देशले भोली त्यही सोच्छ भन्ने एउटा उक्ति राजनीति क्षेत्रमा व्याप्त छ । यस्तै सोचलाई साच्चै समाज र जीवनमा परिणत गर्न गाह्रो हुन्छ । तर, विराटनगरका व्यवसायी अरुण राठी भने आफ्नो जीवनमा यस्तो सोचलाई परिणत गर्न सक्षम रहेको अनुभूति गर्छन् ।

जब विराटनगरको आदर्श विद्यालयमा विद्यालय तहको अध्धयन पुरा गरेर उच्च शिक्षाका लागि कलकत्ता पुगे तब उनले जीवन बदल्ने संकल्पमात्रै गरेनन्, समाज बदल्ने सोच पनि पाए । जसका कारण उनी विराटनगर फर्किएर व्यवसायी क्षेत्रमा मात्र होइन सामाजिक र राजनीतिक क्षेत्रमा स्थापित भए । उनी भन्छन्, ‘जब म कलकत्तामा अध्धयन गर्न थाले मैले सोचे नेपालबाट धेरै बालबालिका पढ्नका लागि दार्जिलिङ, खर्साङ र भारतका विभिन्न ठाउँमा पुग्छन् र उपचारका लागि विराटनगरको अस्पताल पनि राम्रो थिएन । त्यतिखेरै मैले सोचे अब म नेपाल गएर व्यवसायीक र यस्ता धेरै सामाजिक काम गर्छु ।’

उनले नेपाल आएर उद्योग खोल्न र जनतालाई राहत हुने खालको सेवामूलक व्यवसायमा लाग्ने र सेव ागर्ने सोच राखे र त्यसलाई यर्थाथमा रुपान्तरण गर्न थाले । उनी भन्छन्, ‘मैले जे सोच्दै छु, त्यो पुग्दैछ र गर्दैछु । मैले कलेजमा पढ्दा बनाएका सपना र सोचेका विषय अहिले पुरा गरिरहेको छु ।’

नेपालका शिक्षा, स्वास्थ्य र उद्योगमा उनको राम्रो प्रगती छ । इस्ट्रन इन्जिनियरिङ कलेज, दिल्ली पब्लिक स्कुल विराटनगर र कुलेश्वर, हेरिटेज इन्टरनेसनल विराटनगर लगायतका ठाउँमा उनले गुणस्तरीय र प्राविधिक शिक्षा दिने विद्यालय खोल्न योगदान दिए । त्यसो त विराटनगरको प्रख्यात विराट नर्सिङ होम उनकै सोचमा खोलिएको अस्पताल हो । उनको समेत पहलमा राठी वायर, राठी स्वीच जस्ता थुप्रै उद्योगहरु खोलिएका छन् । उनको परिवारको विराटनगरमा ठुलो योगदान रहेको छ । हजुरबुबा रामाकिसन राठी, बुबा युगलकिशोर राठीको प्रेरणा र योगदानबाट उनलाई उत्प्रेरणा आइरहेको छ । उनको परिवारले अथिति सदन, सत्यनारायण विद्यालय, सत्यनारायण मन्दिर, राम जानकी मन्दिर र धर्मशालाहरु बनाउन विराटनगरमा ठुलो योगदान गरेको छ ।

२०२४ सालमा जन्मिएका राठी अबको १० वर्ष राजनीतिमार्फत समाजसेवा गर्ने र आफ्ना योजनाहरु कार्यान्वयन गर्ने उद्धेश्यसहित चुनावी मैदानमा छन् । नेकपा एमालेले उनलाई प्रदेशसभाको समानुपातिक उम्मेदवार बनाएको छ । उनले क्याँसलेस अर्थतन्त्रको सुरुवात गर्ने उद्घोष गरेका छन् । यसले भ्रष्टचार रोक्ने र सुशासन समेत कायम हुने भएकाले आफूले पहिलो प्राथामिकतामा राखेको राठीले बताए । उनल औद्योगिक वातावरणको सर्जिना र गुणस्तरीय र प्राविधिक शिक्षामा जोड दिने एजेन्डा राखेका छन् । आज देशमा मारवाडी समुदायको राजस्व र रोजगारीमा ठुलो योगदान रहेको छ । यो समुदाय पनि राजनीतिमा आफ्नो प्रतिनिधित्व कायम राख्दै अगाडी बढ्न चाहन्छ भन्ने सन्देश राठीको उम्मेदवारीले दिएको छ ।

‘नेपालकै अर्थतन्त्रमा सकारात्मक सुधार ल्याउन र समुदायस्तरमै भिजेर काम गर्न सक्छु भन्ने संकल्पका साथ काम गर्छु’, राठीले भने, ‘त्यसैले मैले विचार,सिद्धान्त र नीतिसाथै लिडरसिपसमेत हेरेर एमालेका मार्फतबाट अघि बढ्ने सोच बनाएर हिडिँरहेको छु ।’

प्रतिक्रिया
सम्बन्धित समाचार