विराटनगर : नेपाली कांग्रेसबाट मोरङको क्षेत्र नम्बर ३ को प्रदेश ‘क’ मा उम्मेदवार रहेका शेखरचन्द्र थापाको निधन भएपछि कांग्रेसले आज नयाँ उम्मेदवारको मनोनयन दर्ता गराउँदै छ ।
निर्वाचन आयोगका अनुसार यो क्षेत्रमा नेपाली कांग्रेसले मात्र नयाँ उम्मेदवारको मनोनयन दर्ता गर्न पाउने छ । आज नयाँ उम्मेदवारको मनोनय दर्ता गराउने र उम्मेदवारविरुद्ध दावी विरोधलगायतका प्रक्रिया पुरा गरेरर भोली (शुक्रबार) उम्मेदवारको अन्तिम नामावली प्रकाशन आयोगले जनाएको छ ।
आयोगले मनोनय दर्ताका बिहान १० बजेदेखि दिउँसो १ बजेसम्म हुने जनाएको छ ।
को बन्ला त नयाँ उम्मेदवार ?
प्रदेशसभाका उम्मेदवार बनेका थापाको निधन भएपछि कांग्रेस वृत्तमा नयाँ उम्मेदवारको खोजी हुन थालेको छ । निर्वाचन आयोगले चुनावको मिति नसर्ने र कांग्रेसले नयाँ मनोनयन दर्ता गराउनुपर्ने सूचना जारी गरेपछि नेताहरु टिकटको लविङका छन् ।
प्रदेशसभाका निवर्तमान संसद तथा संसदीय दलका प्रमुख सचेतक सुयर्माराज राईले टिकट पाउने सम्भावना बढी रहेको कांग्रेस स्रोतले बताएको छ । उनी २०७४ को निर्वाचन यही क्षेत्रबाट निर्वाचित भएका थिए । तर, पछिल्लो समय शेखरचन्द्र थापाले टिकट पाएपछि उनी चुनावी गतिविधिमा सक्रिय थिएनन् ।
राईसँगै पर्शुराम कार्कीले पनि टिकट पाउने सम्भावना रहेको छ । पथरीशनिश्चरे घर भएका उनी चुनावी अभियानमा अग्रपंतीमा खटिएका थिए ।
नेपाली कांग्रेसको मोरङ जिल्ला कार्यसमितिले भने उम्मेदवार केन्द्रले टुंगो लगाएर पठाउने जनाएको छ ।