Online Nepal
बिहिबार, कार्तिक ६ २०८३

हर्क साम्पाङ नेतृत्वको श्रम–संस्कृति पार्टीको मुख्य सिद्धान्त हर्कवाद यस्ता छन् प्रमुख बुँदा



श्रम–संस्कृति पार्टीका केन्द्रीय अध्यक्ष हर्कराज राई (साम्पाङ) ले पार्टीको मूल वैचारिक रीतिका रूपमा ‘हर्कवाद’ घोषणा गरेका छन् । राजधानीमा आयोजित कार्यक्रममार्फत उनले श्रम, अनुशासन, स्वदेशी उत्पादन र प्रविधिमूलक विकासलाई केन्द्रमा राख्दै विस्तृत पार्टी–सिद्धान्त सार्वजनिक गरे ।

साम्पाङका अनुसार अनिवार्य श्रम, श्रमदान र व्यवहारमै आधारित संस्कृतिले मात्रै समाजमा कायम रहेका गरिबी, अभाव र विभेदको अन्त्य गर्न सकिनेछ । उनले गरीबी र अभावकै कारण द्वन्द्व, हिंसा र अशान्ति पैदा हुने उल्लेख गर्दै ‘श्रम र संस्कृतिमा आधारित वैचारिक मार्गदर्शन नै हर्कवादको मूल दर्शन’ भएको स्पष्टीकरण दिए ।

साम्पाङले राष्ट्रपति र उपराष्ट्रपति एकै लिङ्ग तथा एकै जाति–समुदायका नहुने व्यवस्था आफ्नो पार्टीको मूल नीतिमा समावेश गरिएको जानकारी दिए । उनका अनुसार यसले राज्य संरचनामा समावेशिता र विविधतापूर्ण प्रतिनिधित्व सुनिश्चित गर्नेछ ।

साम्पाङद्वारा सार्वजनिक ‘हर्कवाद’ सिद्धान्तका प्रमुख बुँदा
१. राजनीतिक तथा शासकीय सुधार

प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपति र उपराष्ट्रपति व्यवस्था ।

राष्ट्रपति र उपराष्ट्रपति फरक लिङ्ग तथा फरक जातिरसमुदायका अनिवार्य ।

विज्ञहरूको समावेशी मन्त्रीपरिषद् गठन ।

मन्त्री बनेपछि सांसद पद निलम्बन गरिने व्यवस्था ।

संघीय शासन प्रणालीअन्तर्गत स्वतन्त्र न्यायपालिका, संघमा दुई सदन र प्रदेशमा एक सदन ।

पूर्ण समानुपातिक निर्वाचन प्रणाली।

जनसंख्या अनुपातमा प्रतिनिधिसभामा समानुपातिक प्रतिनिधित्व।

२. राष्ट्रियता र परराष्ट्र नीति

भौगोलिक अखण्डता संरक्षण प्रमुख प्राथमिकता।

सीमा अतिक्रमण रोकथामका लागि नेपाली सेना सीमामा खटाइने।

असंलग्न विदेश नीति अवलम्बन।

वैवाहिक आधारमा नागरिकता— पाँच वर्ष बसोबास र पुरानो नागरिकता त्यागेपछि मात्र प्रदान।

देशभित्र रहेका सबै आइएनजिओ खारेज गर्ने नीति।

३. शिक्षा र युवा नीति

हप्तामा तीन दिन पाठकीय शिक्षा र चार दिन उत्पादन र साहित्यगत क्रियाकलापमा केन्द्रित प्रणाली।

कक्षा १२ सम्म खाना पकाउने र लुगा सिउने सीप अनिवार्य ।

कक्षा १२ पश्चात् अनिवार्य सैनिक तालिम, त्यसपछि मात्र उच्च शिक्षा ।

शिक्षकलाई राजनीतिक संलग्नतामा प्रतिबन्ध ।

युवा समस्याको समाधानका लागि GEN G आयोग गठन ।

४. आर्थिक नीति र श्रम व्यवस्थापन

वैज्ञानिक कर प्रणाली— धनीमाथि उच्च कर, गरिबलाई कर–छुट ।

श्रमदानमा सबै नागरिकको अनिवार्य सहभागिता ।

स्वदेशी उत्पादन र बजारलाई प्राथमिकता, ‘एक गाउँ एक उद्योग’ योजना ।

सरकारी चालु खर्च कटौती गर्दै मितव्ययी आर्थिक प्रणाली ।

श्रमिकलाई निःशुल्क स्वास्थ्य सेवा, गरिब वर्गलाई गास–बास–कपासको ग्यारेन्टी ।

‘एक घर एक स्वरोजगार’ कार्यक्रम ।

निसर्त अन्तर्राष्ट्रिय लगानी मात्रै स्वीकार्ने नीति ।

५. सुशासन, धर्म र पारदर्शिता

राज्य धर्मनिरपेक्ष रहनु पर्ने, जबर्जस्ती धर्म परिवर्तन निषेध ।

गल्ती गर्ने सरकारी कर्मचारीलाई सरुवा मात्र होइन, सेवाबाट नै बर्हिगमन ।

पत्रकारिता, न्यायालय र सरकारी सेवामा गैरराजनीतिकरण ।

सरकारी बैठकहरू सार्वजनिक तथा लाइभ प्रसारण गरिने ।

प्रतिक्रिया
सम्बन्धित समाचार