Online Nepal
बिहिबार, कार्तिक ६ २०८३

‘डिजिटल नेपाल’ अभियानलाई प्रवर्द्धन गर्दै काेशी प्रदेस सरकार



बिराटनगर। कोशी प्रदेशमा पहिलो पटक सार्वजनिक रूपमा डिजिटल भुक्तानी प्रणालीको शुभारम्भ गरिएको छ । प्रदेश सरकारका भौतिक पूर्वाधार तथा स्वास्थ्यमन्त्री भुपेन्द्र राईले शुक्रबार प्रदेश जन स्वास्थ्य प्रयोगशालाबाट उक्त प्रणालीको औपचारिक सुरुवात गरेका हुन् ।

मन्त्री राईका अनुसार यो पहल डिजिटल युगतर्फको महत्त्वपूर्ण कदम हो । उनले भने, “डिजिटल, सुशासन र पारदर्शिताको युगमा हामीले डिजिटल प्रणालीमार्फत छिटो, छरितो र सहज रूपमा सेवा प्रदान गर्नका लागि यो सुरुवात गरेका हौं ।” मन्त्री राईले चाँडै प्रदेशका सबै अस्पतालमा डिजिटल भुक्तानी प्रणाली लागू गरिने जानकारी दिए ।

स्वास्थ्य मन्त्रालयले आगामी चरणमा अन्य स्वास्थ्य संस्थाहरूमा समेत डिजिटल भुक्तानी सेवा विस्तार गर्ने योजना बनाएको छ । यस प्रणालीबाट सेवाग्राहीहरूलाई सजिलो हुने, प्रशासनिक प्रक्रियामा पारदर्शिता आउने र समयको बचत हुने अपेक्षा गरिएको छ ।

नेपाल राष्ट्र बैंकका तथ्यांकअनुसार हाल देशभर डिजिटल कारोबारमा तीव्र वृद्धि भएको छ । QR कोडमार्फत मात्रै मासिक अर्बौं रुपैयाँ बराबरको कारोबार हुँदै आएको छ । ई–सेवा, खल्ती, फोनपे, आइएमई पे लगायतका डिजिटल वालेट प्रयोगकर्ताको संख्या समेत द्रुत गतिमा बढिरहेको छ ।

विशेषगरी साना तथा मझौला व्यवसायीहरू डिजिटल माध्यमबाट कारोबार गर्न थालेका छन् । यसले नगद व्यवस्थापनको झन्झट कम गराउनुका साथै आर्थिक कारोबारमा पारदर्शिता बढाएको छ ।

नेपाल राष्ट्र बैंकले ‘डिजिटल नेपाल’ अभियानलाई टेवा पुर्‍याउने उद्देश्यले डिजिटल भुक्तानी प्रणालीलाई प्रवर्द्धन गर्दै आएको छ । डिजिटल कारोबारको बढ्दो सहभागिताले वित्तीय समावेशीकरणमा पनि उल्लेखनीय भूमिका खेलेको छ ।

तर, इन्टरनेट पहुँचको कमी, साइबर सुरक्षा सम्बन्धी चिन्ता र डिजिटल साक्षरताको अभाव जस्ता केही चुनौतीहरू अझै बाँकी रहेको विज्ञहरू बताउँछन् । तसर्थ, सम्बद्ध निकायहरूले जनचेतना अभिवृद्धि, प्रविधिमा पहुँच र साइबर सुरक्षामा जोड दिनुपर्ने आवश्यकता औंल्याइएको छ ।

 

प्रतिक्रिया
सम्बन्धित समाचार