Online Nepal
बिहिबार, कार्तिक ६ २०८३

आषाढ शुक्ल एकादशीः घरघरमा तुलसीको बिरुवा सारिँदै



काठमाडौं । आज आषाढ शुक्ल एकादशीका दिन घरघरमा तुलसीको बिरुवा मोठमा सारेर चार महिनासम्म विशेष पूजा आराधना सुरु गरिँदै छ। सनातन वैदिक परम्पराअनुसार विष्णुको प्रतीक मानिने तुलसीलाई आजदेखि कार्तिक शुक्ल एकादशीसम्म विधिपूर्वक पूजाआजा गर्ने चलन छ।

ज्येष्ठ शुक्ल एकादशीका दिन तुलसीको दल बोकेर राखिएको बिरुवा आज घरको मोठमा सारिन्छ। नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिका सदस्य धर्मशास्त्रविद् प्रा.डा. देवमणि भट्टराईका अनुसार आषाढ शुक्ल एकादशीदेखि कार्तिक शुक्ल एकादशीसम्मका चार महिनालाई चतुर्मास भनिन्छ। यस अवधिमा भगवान् विष्णु क्षीरसागरमा शयन गर्नुहुने भएकाले आजको दिनलाई हरिशयनी एकादशी भनिन्छ।

एक वर्षमा जम्मा २४ एकादशी पर्छन्। सक्नेले सबै एकादशीमा फलाहार गर्दै व्रत बस्ने परम्परा छ भने नसक्नेले चतुर्मासका आठवटै एकादशी वा कम्तीमा हरिशयनी र हरिबोधिनी एकादशीमा व्रत बस्ने गर्दछन्।

आजको दिन बिहानैदेखि काठमाडौँको बूढानीलकण्ठ, उपत्यकाका चार नारायण तथा देशभरका विष्णु मन्दिरमा भक्तजनको भीड लागेको छ। एकादशीका दिन चामलजन्य परिकार नखाई रोटी, ढिँडो र फलाहार गर्ने परम्परा छ।

वैज्ञानिक दृष्टिले पनि तुलसीका बिरुवाले वायुमण्डलमा अक्सिजनको मात्रा वृद्धि गरी वातावरण शुद्ध राख्ने प्रमाणित भएको छ। तुलसी रहेको स्थानमा रोग सार्ने जीवाणुहरु नआउने र घरमा शुद्ध र सकारात्मक ऊर्जा प्रवाह हुने विश्वास गरिन्छ।

चार महिनासम्म विधिपूर्वक पूजा गरिएको तुलसीलाई कार्तिक शुक्ल एकादशी अर्थात् हरिबोधिनी एकादशीका दिन भगवान् दामोदरसँग विवाह गरिदिने परम्परा छ। विवाहपछि अग्निस्थापना विधिसहित हवन गरी चतुर्मास व्रतको समापन गरिन्छ।

प्रतिक्रिया
सम्बन्धित समाचार