विराटनगर । विराटनगर–३ स्थित मानगढ खानेपानी आयोजना सञ्चालन गर्दै आएको विराट खानेपानी उपभोक्ता संस्थाको नयाँ नेतृत्वका लागि सम्पन्न निर्वाचनमा अध्यक्ष पदमा लालमणि भट्टराई निर्वाचित भएका छन्। सोमबार विहान सम्पन्न मतगणनाको अन्तिम नतिजाअनुसार भट्टराईले १ हजार ८८९ मत प्राप्त गर्दै आफ्नो प्रतिस्पर्धीहरूलाई पछाडि पार्दै विजयी भएका हुन्।
भट्टराईका निकटतम प्रतिस्पर्धी तथा संस्थाका वर्तमान अध्यक्ष रामबहादुर घिमिरेले १ हजार १५४ मत प्राप्त गर्दै ७३५ मतले पराजित भए। अध्यक्ष पदका अर्की उम्मेदवार दुर्गा चापागाईंले ६३५ मत प्राप्त गरिन्। यस पटकको निर्वाचनमा तीन प्यानलबीच कडा प्रतिस्पर्धा भएको थियो।
महिला उपाध्यक्ष पदमा चापागाईं प्यानलकी सावित्रा पोखरेल विजयी भइन्। उनले १ हजार २०३ मत प्राप्त गरिन्। सोही पदका अन्य उम्मेदवार सावित्रा कुमारी न्यौपानेले १ हजार १३९ र देवीमाया बास्तोलाले ७८८ मत ल्याए।
खुला उपाध्यक्षमा पनि चापागाईं प्यानलकै भोलानाथ घिमिरे निर्वाचित भए। उनले १ हजार ३६१ मत प्राप्त गरे। अन्य प्रतिस्पर्धी बुद्धिप्रसाद पौडेलले ८५०, रुद्रबहादुर कार्कीले ७०९, कौशिला बन्जरा रेग्मीले ४५० र दामोदर खरालले ९८ मत प्राप्त गरे।
सचिव पदमा भट्टराई प्यानलका प्रदीप कुमार नेपाल विजयी भए। उनले १ हजार ६७९ मत प्राप्त गरे। सचिव पदका प्रतिस्पर्धी नगेन्द्र प्रसाद ढकालले ८४३ र पवन भट्टराईले ७४१ मत ल्याए।
कोषाध्यक्ष पदमा भने स्वतन्त्र उम्मेदवार सरोज घिमिरे विजयी भए। उनले ९६५ मत प्राप्त गरे। सोही पदमा हिरण्य निरौलाले ९२०, राजेन्द्र कुमार पोखरेलले ७४७ र अन्नपूर्ण पोखरेलले ५०८ मत प्राप्त गरेका थिए।
महिला सदस्यतर्फ सात जनाबीच भएको प्रतिस्पर्धामा भट्टराई प्यानलकी शान्ति बस्नेत रिजाल ९१,१४९० र अञ्जु तिम्सिना कटुवाल ९१,१५७० विजयी भए। खुला सदस्यतर्फ भने घिमिरे प्यानलका केशवप्रसाद आचार्य ९१,०४६० र स्वतन्त्र उम्मेदवार चुडामणि खतिवडा ‘वसन्त’ ९१,०४८० निर्वाचित भए।
मानगढ खानेपानी आयोजनामा कुल ५ हजार ९८८ उपभोक्ता मतदाता रहेका छन्। निर्वाचनमा ६६ प्रतिशत मत खस्दा कुल ३ हजार ९६४ मतदाता सहभागी भएका थिए।