काठमाडौं । सरकारका प्रवक्ता तथा सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले आवश्यक परे राजावादी आन्दोलनमाथि प्रतिबन्ध लगाउन सकिने बताएका छन्।
बिहीबार सिंहदरबारमा मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक गर्ने क्रममा गुरुङले संविधान र लोकतन्त्रविरोधी गतिविधि सहन नसकिने चेतावनी दिए। ‘राजतन्त्र पुनर्स्थापना गर्ने प्रयास संविधानविरोधी हो’, उनले भने, ‘सरकार सधैं टुलुटुलु हेरेर बस्दैन।’
गुरुङका अनुसार सरकारले अहिलेसम्म आन्दोलन, सभा र अभिव्यक्तिको स्वतन्त्रतालाई उदारतापूर्वक स्वीकार गर्दै आएको छ। उनले सरकारको सहनशीलतालाई कमजोरी ठाने भ्रममा नपर्न आग्रह गरे।
‘सरकार डराएर होइन, लोकतान्त्रिक मूल्यको सम्मान गर्दै यस्ता गतिविधिमा हस्तक्षेप नगरेको हो,’ गुरुङले भने, ‘तर अब ती गतिविधिको रूप हेरेर उपयुक्त जवाफ दिइनेछ।’
संविधान र शासनप्रणाली उल्ट्याउन चाहनेहरूमाथि सरकार कठोर बन्ने संकेत दिँदै उनले जस्तोसुकै कदम चाल्न सक्ने बताए ।