काठमाडौं । अमेरिकाका पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्पले एपल कम्पनीलाई भारतमा आईफोन उत्पादन नगर्न सुझाव दिएका छन्। उनले भारत अत्यधिक आयात महसुल (ट्यारिफ) लगाउने देश भएकाले त्यहाँ उत्पादन गर्नु अमेरिका हितमा नपर्ने बताएका छन्।
कतारको दोहामा आयोजित एक व्यवसायिक कार्यक्रमलाई सम्बोधन गर्दै ट्रम्पले भने, “मैले एपलका सीईओ टिम कुकसँग स्पष्ट रूपमा भनेँ– भारत संसारकै उच्च ट्यारिफ लगाउने मुलुक हो, त्यसैले तपाईंहरूले भारतमा आईफोन उत्पादन गर्नु हामीलाई स्वीकार्य छैन।”
उनले दाबी गरेअनुसार भारतले अमेरिकासँग शून्य ट्यारिफको व्यापार सम्झौताको प्रस्ताव गरेको छ। तर ट्रम्पले त्यसलाई अस्वीकार गर्दै भारतले आफूलाई हेरचाह गर्नुपर्ने बताएका छन्।
उनको भनाइले एपलको भारतमा बढ्दो लगानी र उत्पादन विस्तारप्रति असन्तुष्टि प्रकट गरेको देखिन्छ। एपलले पछिल्ला वर्षहरूमा चीनमाथिको निर्भरता कम गर्दै भारतलाई वैकल्पिक उत्पादन केन्द्र बनाउँदै लगेको छ।
विश्लेषकहरूका अनुसार ट्रम्पको यस्तो अभिव्यक्तिले अमेरिका–भारत व्यापार सम्बन्धमा नयाँ तरंग ल्याउन सक्छ। अर्कोतर्फ, उनले भारतलाई ‘उच्च ट्यारिफ राष्ट्र’ भनेर गरेको टिप्पणीले द्विपक्षीय व्यापार वार्ता प्रभावित हुन सक्ने अनुमान गरिएको छ।