विराटनगर । मोरङको ग्रामथान गाउँपालिका–२ का वडाध्यक्ष यादव खतिवडामाथि सार्वजनिकरूपमा दुर्व्यवहार गरिएको भन्दै नेपाल कम्युनिष्ट पार्टी (एमाले), मोरङले गाउँपालिका अध्यक्ष नमोनारायण माझीमाथि कानुनी कारबाहीको माग गरेको छ। शनिबार जारी गरिएको प्रेस विज्ञप्तिमा अध्यक्ष माझी र उनका नजिकका व्यक्तिमाथि गालीगलौज, धम्की, मानसिक यातना र हातपात प्रयासको गम्भीर आरोप लगाइएको छ।
विज्ञप्तिअनुसार, गाउँपालिकामा वडाहरूको नियमित भुक्तानी रोकिएको विषयमा कांग्रेस र एमालेका जनप्रतिनिधिहरूबीच संयुक्त बैठक बसेको थियो। बैठकले लेखा शाखामाथि दवाव दिँदै वडास्तरीय खर्च सार्वजनिक गर्न आग्रह गरे पनि पालिकाले बेवास्ता गरेपछि जनप्रतिनिधिहरू असन्तुष्ट हुँदै कार्यक्रमबाट बाहिरिएका थिए।
त्यसै क्रममा वडाध्यक्ष यादव खतिवडा ग्रामथान–२, पिडारवनीस्थित प्राथमिक स्वास्थ्य केन्द्रको कार्यक्रममा सहभागी भइरहँदा सोही वडाका गयालाल माझीले फोनमार्फत ज्यान मार्ने धम्की दिएको विज्ञप्तिमा उल्लेख छ। केही समयमै अध्यक्ष नमोनारायण माझी गयालाल माझीसहित ४–५ जना साथीसहित कार्यक्रमस्थलमा प्रवेश गरी वडाध्यक्ष खतिवडालाई ‘गाउँपालिकाको सम्पूर्ण गतिविधिमा अवरोध पुर्याउने योजनाकार’ भन्दै सार्वजनिकरूपमा गालीगलौज गर्दै हात हाल्ने प्रयाससमेत गरिएको एमालेको आरोप छ।
विज्ञप्तिमा भनिएको छ, “अध्यक्ष पदमा निर्वाचित भएयता नमोनारायण माझी आफूसरहका निर्वाचित जनप्रतिनिधिमाथि पटक–पटक अशोभनीय, अपमानजनक र अराजक व्यवहार गर्दै आएका छन्।”
एमाले मोरङ अध्यक्ष अजम्बर राईले हस्ताक्षर गरेको विज्ञप्तिमा वडाध्यक्ष यादव खतिवडामाथिको दुर्व्यवहारलाई जनप्रतिनिधिको आत्मसम्मानमाथिको आक्रमणको रूपमा चित्रण गरिएको छ। एमालेले अध्यक्ष माझीमाथि कानुनी कारबाही गर्न, दोषीहरूलाई सार्वजनिक रूपमा क्षमा माग्न बाध्य गराउन र वडाध्यक्षको जिउधनको सुरक्षा सुनिश्चित गर्न प्रशासनसँग जोडदार माग गरेको छ।
विज्ञप्तिमा उल्लेख छ, “निर्वाचित जनप्रतिनिधिमाथि यस किसिमको दुर्व्यवहारले लोकतान्त्रिक अभ्यासमाथि गम्भीर प्रश्न खडा गर्दछ। यस्ता घटनाले पालिकाको कार्यसञ्चालन नै असहज बनाउन सक्छ।”