विराटनगर । कोशी प्रदेश सरकारले आगामी जेठ ४ गते दिउँसो २ बजे प्रदेश सभाको वर्खे (सातौँ) अधिवेशन आह्वान गर्न प्रदेश प्रमुख समक्ष सिफारिस गर्ने निर्णय गरेको छ। सोमबार बसेको प्रदेश मन्त्रिपरिषद्को बैठकले उक्त निर्णय गरेको हो।
आन्तरिक मामिला तथा कानुन मन्त्री रेवती रमण भण्डारीका अनुसार बैठकले प्रदेश प्रमुख परशुराम खापुङसमक्ष अधिवेशन आह्वानको सिफारिस गर्ने निर्णय लिएको जानकारी दिनुभयो।
बैठकले स्थानीय सरकार सेवा (गठन तथा सञ्चालन) नियमावलीमा आवश्यक परामर्शका लागि प्रदेश लोकसेवा आयोगको सुझाव माग गर्ने निर्णयसमेत गरेको छ।
यसैगरी, कोशी गाउँपालिका, सुनसरीको केन्द्र हेरफेरसम्बन्धी प्रस्ताव नेपाल सरकारसमक्ष सिफारिस गर्ने निर्णय पनि मन्त्रिपरिषद्ले गरेको छ।
साथै ‘कारखाना तथा वर्कसप सञ्चालन निर्देशिका–२०८२’ स्वीकृत गर्ने निर्णय गर्दै बैठकले यसलाई कार्यान्वयनमा लैजाने तयारी अघि बढाउने बताइएको छ।
बैठकले वैशाख १८ र १९ गते सम्पन्न भएको प्रदेश लगानी सम्मेलनलाई भव्यतापूर्वक सफल बनाउने कार्यमा योगदान पुर्याउने सबैप्रति धन्यवाद ज्ञापन गर्ने प्रस्ताव पनि पारित गरेको छ।