Online Nepal
बिहिबार, कार्तिक ६ २०८३

कोशी प्रदेशमा गणतन्त्र दिवस तीन दिनसम्म भव्य रूपमा मनाइने 



विराटनगर । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले आउँदो गणतन्त्र दिवसलाई औपचारिकता मात्र नभई जनस्तरसम्म पुगोस् भन्ने उद्देश्यका साथ भव्य रूपमा मनाउने तयारी गर्न निर्देशन दिएका छन्।

मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, विराटनगरमा आज आयोजित गणतन्त्र दिवस तयारी बैठकमा मुख्यमन्त्री कार्कीले गणतन्त्र दिवसलाई सबै नागरिकले अपनत्वका साथ मनाउने खालका कार्यक्रम आयोजना गर्न आग्रह गरे। “दिवसलाई दिवसका रूपमा मात्र सीमित गर्नुहुँदैन,” उनले भने, “गणतन्त्रप्रति जनविश्वास अभिवृद्धि गर्ने र यसलाई संस्थागत गर्ने माध्यमको रूपमा प्रयोग गर्नुपर्छ।”

बैठकले आगामी जेठ १४, १५ र १६ गते तीन दिनसम्म विविध कार्यक्रमसहित गणतन्त्र दिवस मनाउने निर्णय गरेको छ। मुख्यमन्त्री कार्कीको अध्यक्षतामा मूल समारोह समिति गठन गरिएको छ, जसले प्रदेशभर कार्यक्रमको समन्वय र व्यवस्थापन गर्नेछ।

मुख्यमन्त्री कार्कीले लोकतान्त्रिक गणतन्त्रको औचित्य, आवश्यकता र प्राप्त उपलब्धिका विषयमा जनस्तरमा पहुँच हुने खालका अन्तरक्रिया र कार्यक्रमहरू सञ्चालन गर्न सम्बन्धित निकायलाई निर्देशन दिएका छन्।

उनले प्रदेश सरकारको तर्फबाट गणतन्त्र दिवसलाई संस्थागत उपलब्धिको उत्सवको रूपमा मनाइने उल्लेख गर्दै आम नागरिकमा यसको सन्देश पुर्‍याउने लक्ष्य लिइएको जानकारी दिए ।

प्रतिक्रिया
सम्बन्धित समाचार