काठमाडौं । संघीय संसद्को दुवै सदनमा आगामी आर्थिक वर्ष २०८२/८३ को सरकारको नीति तथा कार्यक्रममाथि आजदेखि औपचारिक छलफल सुरु हुँदैछ। प्रतिनिधिसभाको बैठक आज बिहान ११ बजेका लागि बोलाइएको छ भने राष्ट्रियसभाको बैठक दिउँसो १ः१५ बजे बस्ने कार्यतालिका छ।
प्रतिनिधिसभामा प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रपतिको सम्बोधनमा आधारित सरकारको नीति तथा कार्यक्रममाथि छलफल गरियोस् भन्ने प्रस्ताव पेश गर्नेछन्। राष्ट्रपति रामचन्द्र पौडेलले वैशाख १९ गते संघीय संसद्को संयुक्त बैठकमा आगामी वर्षको नीति तथा कार्यक्रम प्रस्तुत गरेका थिए।
संघीय संसद्का महासचिव पद्मप्रसाद पाण्डेयका अनुसार छलफलको क्रममा सांसदहरूले संशोधन प्रस्ताव पनि पेश गर्न सक्नेछन्। यसअघि राष्ट्रियसभामा भने आइतबारदेखि नै छलफल प्रक्रिया सुरु भइसकेको छ।