विराटनगर । कोशी प्रदेश सरकारले आयोजना गरेको लगानी सम्मेलनबाट १ खर्ब ५२ अर्ब १६ करोड रुपैयाँ बराबरको परियोजनामा समझदारीपत्र (एमओयू) हस्ताक्षर भएको छ।
सम्मेलनको समापन कार्यक्रममा कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कुमार कार्कीको उपस्थितिमा लगानी प्राधिकरणका प्रमुख कार्यकारी निर्देशक डा. सरोज कोइराला र विभिन्न लगानीकर्ताहरूबीच सम्झौता भएको हो।
लगानी प्राधिकरणका अनुसार कृषि, ऊर्जा, उद्योग, पूर्वाधार, सूचना प्रविधि, पर्यटन तथा फोहोरमैला व्यवस्थापनजस्ता क्षेत्रमा निजी र सार्वजनिक-निजी साझेदारीमार्फत लगानीको सहमति जुटाइएको हो। कुल ४६ परियोजनामा सम्झौता भएको छ। तीमध्ये १९ वटा निजी क्षेत्रका हुन् भने २७ वटा परियोजना सार्वजनिक-निजी साझेदारीमा आधारित छन्।
सम्मेलनमा कोशी प्रदेश सरकारले ७१ वटा परियोजना प्रस्तुत गरेको थियो। ती परियोजनाहरूको अनुमानित लागत १ खर्ब ७३ अर्ब ४९ करोड रुपैयाँ रहेको छ। समापन कार्यक्रममा बोल्दै मुख्यमन्त्री कार्कीले सम्मेलनलाई ऐतिहासिक र भव्य रुपमा सम्पन्न भएको बताउँदै यसबाट प्रदेशमा लगानीको नयाँ ढोका खुलेको उल्लेख गरे ।
आन्तरिक मामिला तथा कानुन मन्त्री रेवती रमण भण्डारीले प्रदेश सरकारले लगानी मैत्री वातावरण बनाउन कानुनी तथा नीतिगत तयारी गरेको बताए । उनले आवश्यक परेमा कानुन संशोधन गर्न पछि नपर्ने स्पष्ट पारे ।
पूर्व मुख्यमन्त्री केदार कार्कीले लगानीको वातावरण बनाउन कानुन संशोधन ठूलो कुरा नभएको भन्दै सरकारले चाहने हो भने तत्काल संशोधन गरेर सहज वातावरण तयार गर्न सकिने धारणा राखे । सभामुख अमरबहादुर बिष्ट, भौतिक पूर्वाधार तथा स्वास्थ्य मन्त्री भुपेन्द्र राई लगायतले पनि सम्मेलन सफल भएको प्रतिक्रिया दिए।
कार्यक्रममा सहभागी चिनियाँ लगानीकर्ता लियाङ झुङ, गैरआवासीय नेपाली लगानीकर्ता रेजिना राई प्रधान, गालभ ढुंगानालगायतले कोशी प्रदेशमा लगानीको राम्रो सम्भावना रहेको बताएका छन्।
यस्तो सम्मेलनले कोशी प्रदेशलाई लगानीको गन्तव्यका रूपमा स्थापित गर्ने अपेक्षा गरिएको छ।