विराटनगर, वैशाख ७ । विराटनगर महानगरपालिका–३ स्थित पोखरिया माध्यमिक विद्यालयमा शनिबार भएको प्रवेश परीक्षा तनावपूर्ण परिस्थितिमा सम्पन्न भएको छ। विद्यालयले पूर्वनिर्धारित तालिकाअनुसार बिहान ११ बजेदेखि कक्षा आठका लागि प्रवेश परीक्षा सञ्चालन गर्ने घोषणा गरेपछि शिक्षक महासंघका प्रतिनिधिहरूले परीक्षा अवरुद्ध गर्न प्रयास गरेका थिए।
विद्यालयले दुई दिनअघि नै सूचना प्रकाशित गर्दै वैशाख ७ गते परीक्षा हुने जानकारी गराएको थियो। त्यसैअनुसार अभिभावकहरू बिहान ९ बजेदेखि विद्यालयमा लाइनमा बसेका थिए। धनुषा, सप्तरी, सिराहा, इलाम, पाँचथरसहित टाढाटाढाबाट आएका अभिभावकहरू आफ्ना बालबालिकालाई परीक्षा दिन पठाउन तयार अवस्थामा थिए।
त्यहीबीच आदर्श मावि विराटनगरका सहायक प्रधानाध्यापक इन्द्र चौहान मुखमा मास्क लगाएर विद्यालय प्रवेश गरे। व्यवहार अस्वाभाविक देखिएपछि कर्मचारीहरूले सोधपुछ गर्दा उनले आफू शिक्षक महासंघबाट आएको बताए। चौहानले परिचय खुलाएपछि भिडियो खिच्न थाल्दा अभिभावक र कर्मचारीहरूबीच विवाद उत्पन्न भयो।
चौहानले ‘सरकारले हाम्रो माग नसुनेको’ भन्दै परीक्षा बन्द गर्न दबाब दिए। परीक्षा नरोके थप शिक्षक बोलाउने चेतावनी दिएपछि स्थिति तनावपूर्ण बन्यो। चौहानकै अगुवाइमा ८–१० जना अन्य शिक्षकहरू समेत विद्यालयमा आएपछि अभिभावक र शिक्षकबीच भनाभन र घम्साघम्सीको स्थिति देखिएको थियो। प्रहरीले हस्तक्षेप गरेपछि शिक्षकहरूलाई विद्यालय नर्सको कार्यकक्षमा राखेर छलफल गरियो।
सप्तरीबाट बच्चा भर्ना गराउन आएका अभिभावक विनोद कुमार मण्डलले शिक्षक महासंघले सूचना प्रकाशित हुँदा मौन बसेर परीक्षा सुरु भएपछि अवरोध गर्न खोज्नु अराजकता भएको बताए। ‘शिक्षकका माग जायज भए पनि विद्यार्थी परीक्षा दिन आइसकेपछि भाडभैलो गर्नु ठीक होइन,’ उनले भने।
विद्यालय व्यवस्थापन समितिका अध्यक्ष कृष्णप्रसाद गौतमका अनुसार कर्मचारी आन्दोलनमा भए पनि अभिभावकको दबाबका कारण प्रवेश परीक्षा लिनुपरेको हो। ‘हामीले परीक्षा सञ्चालन निजी स्रोतका शिक्षक प्रयोग गरेर गरेका हौँ,’ उनले भने।
पोखरिया माविमा यस वर्ष २,४३० विद्यार्थीले प्रवेश फर्म भरेका छन्। मधेस र कोशी प्रदेशका विभिन्न जिल्ला तथा पहाडी क्षेत्रबाट विद्यार्थीहरू आवेदन दिन आएका थिए।
यसअघि वैशाख ३ गतेको लागि तोकिएको प्रवेश परीक्षा महासंघको चेतावनीपछि वैशाख ६ मा सारिएको थियो। महासंघले परीक्षा सञ्चालन गर्ने शिक्षकहरूलाई कालोमोसो दल्ने चेतावनी दिँदै आएको थियो।