Online Nepal
बिहिबार, कार्तिक ६ २०८३

राजतन्त्र र हिन्दु राष्ट्रको पक्षमा राप्रपाको बल्खुमा शक्ति प्रदर्शन, दुई हजार सुरक्षाकर्मी खटाइने



फाइल फोटो

काठमाडौं। संवैधानिक राजतन्त्र र हिन्दु राष्ट्र पुनर्स्थापनाको मागसहित राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले मंगलबार काठमाडौंको बल्खुमा शक्ति प्रदर्शन गर्दैछ। पछिल्लो समय सडक आन्दोलनमार्फत समर्थन विस्तारमा जुटिरहेको राप्रपाले बागमती प्रदेशस्तरीय सभा आयोजना गर्दै बल्खुमा ठुलो भीड उतार्ने तयारी गरेको हो।

पार्टी प्रवक्ता मोहन श्रेष्ठका अनुसार सभाअघि बिहान ११ बजेदेखि कलंकी, कालिमाटी, कीर्तिपुर, सातदोबाटो लगायत स्थानबाट जुलुस निस्कनेछ भने सभा दिउँसो १२ बजेदेखि सुरु हुनेछ। “३० हजारको उपस्थितिको लक्ष्यसहित व्यापक तयारी भएको छ,” श्रेष्ठले जानकारी दिए।

सभालाई अध्यक्ष राजेन्द्र लिङ्देनसहित शीर्ष नेताहरूले सम्बोधन गर्नेछन्। अध्यक्ष लिङ्देन सोमबार साँझ सभा स्थलको स्थलगत निरीक्षणमा समेत पुगेका थिए।

राप्रपाले यसअघि सभा भृकुटीमण्डपमा गर्न चाहेको थियो तर जिल्ला प्रशासन कार्यालयले सुरक्षा संवेदनशीलता औंल्याउँदै बल्खु वा सिफल चौर रोज्न निर्देशन दिएको थियो। त्यसपछि बल्खु तय गरिएको हो।

पार्टीले सभा शान्तिपूर्ण र मर्यादित हुने दाबी गरेको छ। दर्जनौं स्वयंसेवक परिचालन गरिनेछ जसले सभाको व्यवस्थापन र घुसपैठ रोक्न सहयोग गर्नेछन्। “घुसपैठको आशंका भए तुरुन्त नियन्त्रणमा लिएर सुरक्षाकर्मीलाई बुझाउने निर्देशन अध्यक्षले दिनुभएको छ,” प्रवक्ता श्रेष्ठले बताए।

पछिल्लो समय राजावादी प्रदर्शनहरू हिंसात्मक बन्ने सम्भावनालाई मध्यनजर गर्दै सुरक्षा निकायहरू सतर्क बनेका छन्। नेपाल प्रहरी, सशस्त्र प्रहरी र राष्ट्रिय अनुसन्धान विभागका टोलीहरू खटाइने छन्। सभा क्षेत्र वरपर मात्रै दुई हजार प्रहरी खटाइने छ भने सीसीटीभी र ड्रोनबाट निगरानी गरिनेछ।

सभा र जुलुसलाई मध्यनजर गर्दै काठमाडौं उपत्यकामा ट्राफिक व्यवस्थापन परिवर्तन गरिएको छ। विभिन्न वैकल्पिक रुटमा सवारी साधन डाइभर्ट गरिनेछ। त्रिभुवन विश्वविद्यालयको गेटदेखि चोभार सडक, सानेपा करिडोर र सुख्खा बन्दरगाह क्षेत्र पार्किङका लागि छुट्याइएको छ।

प्रतिक्रिया
सम्बन्धित समाचार