विराटनगर । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले प्रादेशिक आम सञ्चार विधेयक सहमति मै पारित हुने बताएका छन् । विधेयकमाथि पर्याप्त छलफल गर्ने उनले बताए ।
आज प्रेस चौतारी कोशी प्रदेश समितिको दोश्रो अधिवेशनको उद्घाटन कार्यक्रममा बोल्दै मुख्यमन्त्री कार्कीले प्रदेश सभामा पेश भएको प्रादेशिक सञ्चार विधेयकमा कमि कमजोरी भए सच्याएर अघि बढ्ने समेत प्रतिबद्धता व्यक्त गरे । मुख्यमन्त्री कार्कीले अहिले अध्यादेशको विषयमा अनावश्यक रुपमा बखेडा झिक्न खोजेको बताए ।
उनले भने – ‘सरकारले ल्याउने विधेयकका विषयमा दलका नेताहरुले पनि विरोध गरिरहेको सुनिन्छ तर अध्यादेश संवैधानिक हो । सदनबाट पारित नभए खारेज हुन्छ तर अध्यादेश ल्याउन नपाउने भन्ने हुन्न् ।’
यसै गरी कोशी प्रदेशको विकासका प्रदेश सरकारले विभिन्न योजनाहरु सुरु गरिएको बताए । उनले कोशी प्रदेशको पर्यटन विकासका लागि विभिन्न पदमार्गहरु निर्माणको काम सुरु गरिएको जानकारी दिए ।