विराटनगर । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले संघीयताको पूर्णरुपमा कार्यान्वयन नभइसकेको बताएका छन् ।
प्रशासनीक संघीयता, वित्तिय संघीयता र राजनीतिक संघीयताले अझै पनि पूर्णता नपाएको मुख्यमन्त्री कार्कीको भनाइ छ । आज कोशी प्रदेश सभा स्थापनाको ७ औँ वार्षिकोत्सव कार्यक्रमलाई सम्बोधन गर्दे उहाँले अहिले पनि प्रशासनिक संरचना नबनिसकेको बताए ।
प्रहरी समायोजन लगायतका कामहरु अझै बाँकी रहेको भन्दै उनले यो विषय छिट्टै टुंगो लाग्ने अपेक्षा गरे । मुख्यमन्त्री कार्कीले राजनीतिक संघीयता पनि लागू नभएको भन्दै भने – ‘दलहरुले र दलका नेताहरुले अझै पनि केन्द्रकै मुख ताक्ने गरेका छौँ, यो ठिक पनि होला एक ढंगले, तर साना मसिना कुरापनि निर्णय गर्न सकिरहेका छैनौँ ।’
यस्तै वित्तिय संघीयता कार्यान्वनयमा समेत ५ वर्षसम्म केही काम हुन नसकेको र अहिले सुरु गरिएको बताए । मुख्यमन्त्री कार्कीले प्रदेशको छुट्टै राजस्व कार्यालय स्थापना गर्न लागिएको जानकारी दिए । सो कार्यालयको नाम अहिलेसम्म नटुंगिएको भएपनि केही दिनमा नै यसलाई स्थापित गर्ने उनको भनाइ छ ।
सो कार्यालयले स्थानीय तहहरु र संघीय संरचनाहरुसँग समन्वय गरेर राजश्व र करहरु व्यवस्थित गर्ने र बढाउने उनले बताए । मुख्यमन्त्री कार्कीले अनुभवहरुले नै संघीयता बलियो बनाउने भन्दै यो ७ वर्षमा बटुलेको अनुभवका आधारमा प्रदेश सरकार अघि बढी रहेको जानकारी दिए ।
उनले अहिलेसम्मको अवस्था हेर्दा कोशी प्रदेश सभा सफल रहेको बताए । कार्यक्रममा सम्बोधन गर्दै कोशी प्रदेशका सभामुख अम्मरबहादुर विष्टले प्रदेश सभा सफल बनाउन प्रत्यक्ष तथा अप्रत्यक्ष रुपमा सहयोग गर्ने सबैलाई धन्यवाद व्यक्त गरे ।