Online Nepal
बिहिबार, कार्तिक ६ २०८३

विश्व क्यान्सर दिवस मनाइँदै



विराटनगर । विश्व क्यान्सर दिवस आज मनाइँदै छ । प्रत्येक वर्ष फेब्रुअरी ४ मा विभिन्न सचेतनामूलक कार्यक्रम गरेर नेपालसहित विश्वभर क्यान्सर दिवस मनाउने गरिन्छ ।

चिकित्सकका अनुसार क्यान्सर लाग्दैमा डराउनु पर्दैन । प्रारम्भिक चरणमा पहिचान भएमा निर्मूल बनाउन सकिन्छ । सही समयमा क्यान्सर पहिचान भएमा यसको उपचार सम्भव रहेको विज्ञहरु बताउँछन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. प्रकाश बुढाथोकीले नियमित रूपमा स्वास्थ्यको जाँच गरी प्रारम्भिक चरणमा क्यान्सर पत्ता लागेमा उपचार गरेर रोकथाम गर्न सकिने बताए । पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानका वरिष्ठ क्यान्सर रोग विशेषज्ञ डा। अरुण शाहीले क्यान्सर थाहा पाउनेबित्तिकै उपचार भए निको पार्न सकिने बताए ।

रोगबारेको बुझाइ तथा समाजमा गरिएको नकारात्मक चित्रणले गर्दा त्रास बढेको चिकित्सकको भनाइ छ । डा. बुढाथोकी थाइराइड, उच्च रक्तचाप, मधुमेहजस्तै क्यान्सर पनि दीर्घ रोग भएको बताउँछन् । समयमा पहिचान भएर उपचार हुनसक्यो भने क्यान्सर निर्मूल पार्न सकिने उनको भनाइ छ ।

क्यान्सरका पहिलो र दोस्रो चरणका बिरामी धेरैजसोको उपचार सफल भएको उदाहरण पनि छ । तेस्रो र चौथो चरणका बिरामीलाई भने जोखिम रहन्छ । नेपालमा ९५ प्रतिशत क्यान्सरको उपचार हुने चिकित्सकहरुले बताए ।

विश्वको तुलनामा क्यान्सरको उपचार नेपालमा सस्तो रहेको चिकित्सकहरु बताउँछन् । सरकारी अस्पतालमा ४० देखि ५० हजार रुपैयाँसम्ममा क्यान्सरको शल्यक्रिया हुने गरेको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. बुढाथोकी नियमित स्वास्थ्य जाँच गराउँदा प्रारम्भिक चरणको क्यान्सर पत्ता लाग्ने बताउँछन् । क्यान्सर पत्ता लागेमा उपचार गरेर रोकथाम गर्न सकिने उनको भनाइ छ ।

क्यान्सर अत्यधिक मद्यमान र सुर्तीजन्य पदार्थको सेवन, खानपिन, जीवनशैली, आराम, विकिरणको प्रभाव, जीवाणु, वंशाणुगतलगायतले हुने गर्दछ। भातदाल तरकारी र अचार नखाने, बढीजसो फास्टफुड, जंकफुड, पोलेको, सडेगलेका तथा बासी खानेकुरा खाने तथा धुम्रपान, मध्यपान गर्ने र व्यायाम नगर्ने गर्दा क्यान्सरको जोखिम हुन्छ ।

नेपालमा आगामी ४ वर्षसम्मलाई ३५ प्रकारका क्यान्सरका आवश्यक औषधि निःशुल्क उपलब्ध गराउने व्यवस्था गरिएको छ । निःशुल्क औषधि उपलब्ध गराउन नेपालले ‘ग्लोबल प्लेटफर्म फर एक्सेस टु चाइल्डहुड क्यान्सर मेडिसिन्स’मा सहभागिता जनाएको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार