काठमाडौं । भारतको उत्तर प्रदेशको प्रयागराजमा भइरहेको महाकुम्भ मेलामा स्नान गर्ने क्रममा गंगा तटमा भागदौड हुँदा कम्तीमा १२ जनाको मृत्यु भएको छ ।
घटनामा परेर ५० जनाभन्दा बढी घाइते भएका छन् । कतिपय सञ्चारमाध्यमले मृतकको संख्या १० रहेको उल्लेख गरेका छन् । कतिपयले १५ जनाको मृत्यु भएको समाचार लेखेका छन् ।
यद्यपि, सरकारी तहबाट घटनाको आधिकारिक विवरण सार्वजनिक गरिएको छैन । भागदौडपछि मौनी अमावस्याको अमृत स्नान रद्ध गरिएको छ । अत्यधिक भिडभाडका कारण स्नान रद्ध गरिएको हो ।
प्रधानमन्त्री नरेन्द्र मोदी र गृहमन्त्री अमित शाहले मुख्यमन्त्री योगी आदित्यनाथसँग फोन गरेर घटनाको जानकारी लिएका छन् । संगम नाकामा अचनाक फैलिएको अफवाहका कारण भागदौड मच्चिएको भारतीय सञ्चारमाध्यमले उल्लेख गरेका छन् ।
भागदौडका क्रममा केही महिलाहरू भुइँमा लडेका थिए । मानिसहरू उनीहरूमाथि दौडिए ।
भिड बढ्न नदिन प्रयागराज सहरमा पनि भक्तजनको आगमनमा रोक लगाइएको छ । प्रयागराजसँग सीमा जोडिएका स्थानमा सतर्कता अपनाइएको छ ।
मौनी अमावस्याको महाकुम्भमा करिब ५ करोड भक्तजनले आज स्नान गर्ने अनुमान थियो । हिजो मंगलबार साढे ५ करोडभन्दा बढी भक्तजनले संगममा स्नान गरेका थिए । प्रयागराज सहरमा सुरक्षाका लागि ६० हजारभन्दा बढी सैनिक तैनाथ गरिएको छ ।
महाकुम्भ मेला जनवरी १३ देखि सुरु भएको हो । हालसम्म १५ करोड बढीले गंगा स्नान गरिसकेको अनुमान छ ।