Online Nepal
बिहिबार, कार्तिक ६ २०८३

लगानी सम्मेलनका विषयमा बाहिर देखिएजस्तो विवाद छैन : मुख्यमन्त्री कार्की



विराटनगर । कोसी प्रदेश सरकारले आयोजना गर्ने तय भएको लगानी सम्मेलन प्रदेश सरकारले नै गर्न मुख्यमन्त्री हिक्मतकुमार कार्कीले बताएका छन् । प्रदेश सभाको सुशासन तथा योजना समितिको बैठकमा मुख्यमन्त्री कार्कीले बाहिर चर्चा गरेजस्तो विवाद नरहेको दाबी गरे ।

“कुनै एउटा संगठनको ब्यानरमा नभए सम्मेलन सरकारले गर्ने हो । तयारी पूरा भएपछि एउटा ‘ग्रान्ड’ पत्रकार सम्मेलन गरेर थप जानकारी गराउने तयारी छ, सरकार मूल आयोजक हुन्छन् । पूर्ण प्रस्ताव बनेपछि थप छलफल हुनेछ,” मुख्यमन्त्री कार्कीले भने,“मलेसियाका पूर्वअर्थमन्त्री आउने प्रतिवद्धता जनाउनु भएको छ । विश्व बैंकका पूर्वसिइओ पनि आउने सम्भावना छ । प्रधानमन्त्री र पूर्व प्रधानमन्त्रीहरु पनि सहभागी हुनु हुनेछ । यो, साझा लगानी सम्मेलन हो ।’

यसका लागि तीन करोड तीस लाख रुपैयाँ विनियोजन भएकोसमेत मुख्यमन्त्री कार्कीले जनानकारी दिए । यो बजेट लगानी बोर्डलाई पठाइएको र बजेट बाँडफाँट गरेर बोर्डले पास गरेको उनले जानकारी दिए । मुख्यमन्त्री कार्कीले राजनीतिक दल, नेपाल सरकारका माथिल्ला निकाय, संसदीय दल, लगानी बोर्ड तथा योजना आयोग आदिको सल्लाह सुझाव लिने काम भएको सुनाए ।

लगानी सम्मेलनका विषयमा विभिन्न प्रश्न उठिरहेको सन्दर्भमा प्रदेश सभाको सुशासन तथा योजना समितिले मुख्यमन्त्री हिक्मत कार्की र प्रदेश लगानी बोर्डका प्रमुख कार्यकारी अधिकृत (सिइओ) सरोज कोइरालासँग जानकारी लिएको छ । बिहीबार समितिको बैठकमा सहभागी मुख्यमन्त्री कार्कीले सरकारको तयारीबारे सांसदहरुलाई जानकारी गराएका छन् ।

कोशी प्रदेश सरकारले माघ ११ गतेदेखि तीन दिनसम्म विराटनगरमा लगानी सम्मेलन आयोजना गर्ने तयारी गरेको छ । तर, यसबारे निजी क्षेत्रका संघ संगठनमा आयोजनाको विषयमा विवाद भएपछि अघिल्लो पटक बसेको बैठकले लगानी प्राधिकरण र मुख्यमन्त्रीबाट तयारीबारे जानकारी दिन पत्राचार गरेको थियो ।
उनले तयारी पूरा नभई छलफल हुँदा अपूर्ण हुनसक्ने भन्दै पुस २० गतेभित्र सबै तयारी पूरा गर्ने बताए ।

लगानी बोर्डका सिइओ कोइराला लगानी बोर्डको खातामा पठाइएको र अब बजेट लगायत प्रक्रिया अघि बढाउने बताउँदै सम्मेलनमा कूल ३७ वटा परियोजना छनोट गरेर शोकेस गर्ने तयारी रहेको सुनाए ।

प्रतिक्रिया
सम्बन्धित समाचार