विराटनगर । विराटनगरमा दुई दिने रोजगार मेला सुरु भएको छ। विराटनगर महानगरपालिकाको आयोजनामा रोजगार मेला सुरु भएको हो । युवा जनशक्तिको वैदेशिक पलायनलाई रोक्ने उद्देश्यले स्वदेशमा नै रोजगारीको अवसर प्रदान गर्न कोलागि मेला आयोजना गरिएको विराटनगर महानगरपालिकाका मेयर नागेश कोइरालाले बताए । मेलाबाट तीन सय भन्दा बढी युवाहरुलाई रोजगार दिइने लक्ष्य लिएको विराटनगर महानगरपालिकाका मेयर कोइरालाले बताए ।
२०८० सालमा आयोजना गरिएको पहिलो महानगर रोजगार मेलाबाट एक सय ९७ जना युवा रोजगार भएको उल्लेख गर्दै यो वर्ष तीन सय जना भन्दा बढी बेरोजगार युवाले रोजगार प्राप्त गर्ने उनको भनाइ छ ।
विराटनगर महानगरपालिकाकी उपप्रमुख शिल्पा निराला कार्कीले रोजगार उपलब्ध गराउने निकाय र रोजगारको खोजीमा रहेका युवा युवतीलाई एउटै थलोमा राखेर पुलको काम महानगरपालिकाबाट भएको बताइन् ।
उद्योग सङ्गठन मोरङका अध्यक्ष राकेश सुरानाले नेपालमा दक्ष प्राविधिक नहुँदा भारतबाट कामदारहरू ल्याउनु पर्ने बाध्यता विद्यामान रहेको उल्लेख गरे । अहिले पनि बजारमा जनशक्तिको अभाव छ तर प्राविधिक श्रम शक्तिको अभाव रहेको उनको भनाई छ । विराट व्यापार सङ्घको उपाध्यक्ष शरद श्रेष्ठ, नेपाल घरेलु तथा साना उद्योग महासङ्घ मोरङका अध्यक्ष चेतन निरौला लगायतले घरेलु तथा साना उद्योगमा युवा तथा किशोरीहरूले रोजगार प्राप्त गर्दै आएको बताए ।
विराटनगर महानगरपालिकाले वडा नम्बर ७ मा रहेको इको पार्कमा आयोजित रोजगार मेलामा विभिन्न संस्थाका ३० वटा स्टल छन् । मेला भोलि सम्पन्न हुने छ ।