Online Nepal
बिहिबार, कार्तिक ६ २०८३

आज उधौली पर्व मनाइँदै



काठमाडौं । मंसिर शुक्ल पूर्णिमाका दिन आज पितृको मान र प्रकृतिको पुजा गर्दै किरात समुदायले उधौली पर्व मनाउँदैछन् ।

उधौलीको अवसरमा किरात समुदायका याक्खाले चासुवा, सुनुवारले फोलस्यादर, राईले उधौली सकेला र लिम्बूहरूले चासोक तङनाम मनाउछन् ।

किरात समुदायले अन्नबाली पाकेपछि इष्टदेवतालाई चढाउने, खानका लागि अनुमति माग्ने तथा पितृलाई स्मरण गर्ने दिनलाई उधौली पर्वका रुपमा मनाउँछन् । बाली लगाउने बेलामा भने किरात समुदायले उभौली पर्व मनाउने प्रचलन छ ।

भूमिपूजा गर्दै आज बिहानैदेखि किरात महिला तथा पुरुष जातीय वेशभूषामा सजिएर विभिन्न सिली (नाच)सहित पर्व मनाउछन् । पूजापछि आ–आफ्नो परम्पराअनुसार साकेला सिली, च्याब्रुङ नाचेर मनोरञ्जन गर्ने चलन छ । वैशाख शुक्ल पूर्णिमामा उभौली पूजा गरेका किरातले आज उधौली पूजा गरेपछि माथिबाट तल झर्ने गर्छन् ।

उभौलीमा खेतीपाती राम्रो होस् भनी पूजा गर्ने र उधौलीमा खेतीपाती राम्रो गरेकामा साकेला (भूमे)लाई धन्यवाद दिने गरिन्छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार