काठमाडौं । सुनसरीको धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङको अभिव्यक्ति विरुद्ध पत्रकारहरुले गृहमन्त्री रमेश लेखकको ध्यानाकर्षण गराएका छन् ।
आज धरान पुगेका गृहमन्त्रीलाई भेटेर सुनसरीका पत्रकारहरूले ध्यानाकर्षण पत्र बुझाएका हुन् । ध्याकर्षण पत्र बुझ्दै गृहमन्त्री लेखकले आफू पूर्ण प्रेस स्वतन्त्रताको पक्षमा रहेको अभिव्यक्ति दिएका थिए । कोशी प्रदेशका डीआईजी चन्द्रकुवेर खापुङसहित पुगेका गृहमन्त्रीलाई उनीहरुले ध्यानाकर्षण पत्र बुझाएका हुन् ।
खोज पत्रकारिता केन्द्रका लागि धरानका पत्रकार गोपाल दाहालले ‘हर्क साम्पाङको मनमौजी शासन, बेथितिको दलदलमा धरान’ शीर्षकमा मेयर साम्पाङको कार्यशैलीबारे विस्तृत रिपोर्ट लेखेका थिए ।
तर, साम्पाङले सामाजिक सञ्जालमा सार्वजनिक सामाचारको एउटा सानो अंशलाई लिएर बिहीबार धम्कीपूर्ण सन्देश लेखेका थिए । ‘निकै फुरफुर गरिस् तिमेरूले ऐना हेर्दा थुक्ने बनाइदिन भने मेरो नाम हर्क साम्पाङ होइन’ भन्दै उनले सामाजिक सञ्जाल फेसबुकमा उग्र अभिव्यक्ति दिएका थिए ।
यसको आधा घण्टापछि उनले फेरि फेसबुकमा नै धरानको ग्रीन टिमा हाजिर हुन निर्देशन जारी गरेका थिए । मेयर साम्पाङले बिहीबार पत्रकार सम्मेलन मार्फत पत्रकार दाहालले लेखेको रिपोर्टलाई झ्यास भन्दै पूरा पनि नपढेको प्रतिक्रिया दिएका थिए ।