काठमाडौं । नेपाल पत्रकार महासंघले जिल्ला तथा प्रदेश अध्यक्षहरूको राष्ट्रिय भेला बोलाउने निर्णय गरेको छ ।
महासंघको अधिवेशनको मिति पटकपटक सरेको र पदाधिकारीहरुले पालैपालो राजीनामा दिएपछि चुनाव स्थगित भइरहेको अवस्थामा असोज १९ गतेका लागि भेला डाकिएको छ ।
मतदाता नामावलीसम्बन्धी विवाद र मतभेदकै बीचमा महासंघका ५३ शाखाका अध्यक्षहरूले विवाद निरुपणका लागि राष्ट्रिय भेलाको माग गर्दै केन्द्रीय समितिलाई ज्ञापनपत्र पनि बुझाएका महासचिव रोशन पुरीले जानकारी दिएका छन् । यही सन्दर्भमा २०८१ असोज ९ गते केन्द्रीय समिति, प्रदेश समिति अध्यक्ष र जिल्ला अध्यक्षहरूको परामर्श भेला भौतिक तथा भर्चुअल माध्यमबाट सम्पन्न भएको पुरीले जनाएका छन् ।
त्यस्तै, सदस्यता विवाद समाधान गर्न पूर्वअध्यहरूलाई गुहारिएको छ । सदस्यतामा देखिएको विवादका सन्दर्भमा २७ औँ महाधिवेशनबाट पारित शुद्धीकरण मापदण्डलाई आधार मानी केन्द्रीय समितिलाई दिशानिर्देशसहित विवाद समाधानमा सहजीकरण गर्न महासघका पूर्वसभापति डा। सुरेश आचार्यको संयोजकत्वमा पूर्वसभापतिद्वय तारानाथ दाहाल, विष्णु निष्ठुरी तथा पूर्वअध्यक्षहरू धर्मेन्द्र झा, शिव गाउँले, डा. महेन्द्र विष्ट र गोविन्द आचार्यलाई आग्रह गर्ने निर्णय गरिएको छ ।