Online Nepal
बिहिबार, कार्तिक ६ २०८३

बेरुजु घटाउन जसले खर्च गर्छ उसैले लेखापरीक्षण गराउनुपर्छ : सांसद पोखरेल



विराटनगर : नेकपा एमालेका सांसद ऋषिकेश पोखरेलले देशमा बेरुजुको अवस्था डरलाग्दो भएको बताएका छन् । सोमबार प्रतिनिधिसभामा बजेटमाथिको छलफलमा भाग लिँदै उनले आर्थिक अनुशासन र वित्तीय जवाफदेहीतामा मूलुक गम्भीर संकटमा भएको बताए ।

उनले भने, ‘एकातिर १८ खर्ब ६० अर्बको बजेट आएको छ । अर्कोतर्फ १२ खर्ब बेरुजुको प्रतिवेदन महालेखाले प्रस्तुत गरेको छ । यस्तो बेलामा हामीले सजलै भन्न सक्छौ, आर्थिक अनुशासन र वित्तीय जवाफदेहीतामा मूलुक गम्भीर संकटमा छ ।’

सार्वजनिक लेखा समिति सभापतिसमेत रहेका पोखरेलले बेरुजु कम गर्नका लागि जसले खर्च गर्छ उसैले लेखापरीक्षण गराउनुपर्ने र जसले चेक काट्छ उसलैबाट असुल गर्नुपर्ने बताए । ‘ ….र नियमक निकायको अन्तिम जवाफदेहीता हुने परिस्थिति निर्माण गर्न हामी किन चुकिरहेका छौँ,’ उनले भने, ‘यदि आर्थिक अनुशासन कायम गर्ने हो भने बेरुजु कम गर्नेतर्फ सबैको ध्यान जान आवश्यक छ ।’

पोखरेलले सरकारले बजेट प्रस्तुत गर्ने गरेको तर जवाफदेहीता र जिम्मेवारी ग्रहण गर्न नसक्नु गम्भीर भूल भएको आरोप लगाए ।

यस्तै कर प्रणालीको विषयमा छलफल गर्ने अधिकार संसद र जनप्रतिनिधिलाई छ कि छैन भन्ने प्रश्न गर्दै उनले भने, ‘कोही दुईचार जनाले करका दरभाउ निर्माण गरिदिने अनि यो संसदले ताली बजाउने र जनताले ताली बजाउने मात्रै होइन्, कसरी करको दरभाउ र राजस्व बृद्धिमा यो संसदको सहभागीता हुन सक्छ त्यो अब हामीले विकल्पका रुपमा खोज्न सक्नुपर्छ । ’

सांसद पोखरेलले सरकारले आजसम्म निर्माण भएका ठूलाठूला आयोजनाहरुबाट कुनै उपलब्धि लिन नसकेको बताए । आयोजनाहरुको जवाफदेहीता कसैले लिन नसकेको गुनासो गरे ।

ठेक्का लाग्ने तर काम सम्पन्न नहुने परिस्थितिको अन्त्य गर्नका लागि आयोजनाहरुको जिम्मेवारी तोकेर पुरस्कार र दण्डको व्यवस्था गरेमात्र आयोजनाहरु सफल हुने र विकृति रोकिने उनको भनाइ छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार