विराटनगर : कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले स्व. राधेश्याम दली वाम आन्दोलनका अग्रज योद्धा भएको बताएका छन् ।
नेकपा एमाले मोरङ कमिटी र पुष्पलाल स्मारक समिति विराटनगरद्वारा संयुक्त रुपमा बुधबार साँझ विराटनगरमा आयोजित ‘नेपालको वाम प्रजातान्त्रिक आन्दोलनका अथक योद्धा राधेश्याम दलीको स्मृतिमा प्रकाशित पुस्तकको लोकापर्ण समारोहमा उनले स्व. दली मुलुकमा एकतन्त्रीय शासन अन्त्यका लागि गरेका आन्दोलनका कारण सबै राजनीतिकर्मीहरुको प्रेरणाको स्रोत रहेको बताए ।
मुख्यमन्त्री कार्कीले दलीको मुलुकमा असहज परिस्थितिको अवस्थामा समेत निरन्तर आन्दोलनमा लागेर प्रजातन्त्र स्थापनामा ठूलो योगदान भएको बताए । उनले जनताप्रति समर्पित भई आफ्नो जीवन त्याग गर्ने व्यक्तित्वका स्मृति पुस्तक प्रकाशनले समाजका युवापुस्ताले प्रेरणा प्राप्त गर्ने विश्वास व्यक्त गरे ।
मुख्यमन्त्री कार्कीले सामाजिक सञ्जालको वर्तमान समयमा पुस्तक अध्ययन गर्ने प्रवृत्तिको हराउँदै गएको अवस्थामा यस प्रकारको पुस्तक प्रकाशनको ठूलो महत्व रहेको छ र यसका लागि लेखक एवं प्रकाशकलाई धन्यवाद दिए ।
नेकपा एमालेका स्थायी कमिटी सदस्य गुरु वराल, केन्द्रीय सदस्य एवं पूर्व प्रदेश मन्त्री जीवन घिमिरे, नेकपा एमालेका पूर्व केन्द्रीय सदस्य विनोद ढकाल लगायतले पुस्तकको लोकापर्ण गर्दै कठिन परिस्थितिमा पार्टी सुदृढीकरण गर्न स्व. दलीले ठूलो भूमिका निर्वाह गरेको बताए ।
पुष्पलाल स्मारक समितिका अध्यक्ष केशवप्रसाद गौतम, नेकपा एमालेका मोरङका उपाध्यक्ष वावुराम कार्की प्राडा वद्रीविशाल पोखरेल, स्व दलीकी छोरी डा प्रेक्षा दली, प्रा कृष्ण पोखरेल र वडा नं ११ का अध्यक्ष तीर्थेन्द्र न्यौपानेले नीजि स्वार्थलाई त्याग गरी देश र जनताप्रति समर्पित भएको बताएका थिए ।