विराटनगर : नेपालका चर्चित हास्य कलाकार सुमन कार्की भुक्तानी सेवा प्रदायक कम्पनी इसेवाको ब्रान्ड इन्डोर्सर बनेका छन् ।
मंगलबार इसेवाका चिफ बिजनेस अफिसर आशिष गौतम र कलाकार सुमन कार्कीबीच पुल्चोकस्थित इसेवाको मुख्य कार्यालयमा सम्झौतामा हस्ताक्षर भएको हो ।
इसेवाका चिफ बिजनेस अफिसर गौतमले इसेवाको आगामी दिनहरूमा हुने प्रचारप्रसारको क्रममा कार्कीको महत्त्वपूर्ण भूमिका हुने जनाए ।
रियालिटी शो कमेडी च्याप्पियनबाट हास्य कलाक्षेत्रमा प्रवेश गरेका कार्की नेपाली हास्य व्यंग क्षेत्रमा छोटो समयमै असाधारण लोकप्रियता पाउने कलाकारको रूपमा आफूलाई स्थापित गर्न सफल भएका छन् ।
आउने दिनमा इसेवाले गर्ने विभिन्न कार्यक्रम तथा योजनाहरूमा उनको कलाकारिता मार्फत् ग्राहकहरूलाई मनोरञ्जनात्मक शैलीद्वारा प्रचारप्रसारमा मद्दत पुग्ने विश्वासको साथ यो सम्झौता गरिएको पनि गौतमले बताए।
इसेवा र कार्की बीचको साझेदारीले ब्रान्डको प्रचारप्रसारसँगै दर्शक र ग्राहकहरूले रमाइलो शैलीको प्रस्तुत सामग्रीहरू पनि देख्न पाउने बताइएको छ ।