काठमाडौं : आज गणतन्त्र दिवस मनाइँदैछ।
नेपाली जनताकाे बलिदानीपूर्ण आन्दाेलनकाे जगमा संविधानसभाले २०६५ जेठ १५मा गणतन्त्र घाेषणा गरेकाे दिनकाे रुपमा आज विभिन्न कार्यक्रम गरी गणतन्त्र दिवस मनाइँदैछ।
माओवादीकाे १० वर्ष जनयुद्ध र संसदीय दलकाे शान्तिपूर्ण आन्दाेलनकाे जगमा तत्कालीन राजा ज्ञानेन्द्र शाहले आफ्नाे शासन सत्ता २०६३ वैशाख ११ गते जनतामा फिर्ता गरेका थिए। त्यसपछि गठन भएकाे सरकारबाट भएकाे संविधानसभाकाे निर्वाचनबाट भएकाे संविधानसभाकाे पहिलाे बैठकले २०६५ जेठ १५ गते गणतन्त्र स्थापनाकाे घाेषणा गरेकाे थियाे।
गणतन्त्र दिवसकाे अवसरमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले शुभकामना सन्देश दिएका छन्।
सन्देशमार्फत् प्रधानमन्त्री प्रचण्डले नेपालको संविधानले प्रतिस्पर्धात्मक बहुदलीय लोकतान्त्रिक शासन प्रणाली, बहुजातीय, बहुभाषिक, बहुधार्मिक, बहुसाँस्कृतिक तथा भौगोलिक विविधतायुक्त विशेषता, नागरिक स्वतन्त्रता, मौलिक अधिकार, मानव अधिकार, बालिग मताधिकार, आवधिक निर्वाचन, पूर्ण प्रेस स्वतन्त्रता, स्वतन्त्र, निष्पक्ष र सक्षम न्यायपालिका एवम् कानुनी राज्यको अवधारणा लगायतका लोकतान्त्रिक मूल्यमान्यतालाई संस्थागत गरेको बताएका छन्।
गणतन्त्र राजनीतिक व्यवस्थामात्र नभई शासकीय पद्धति र जीवनशैलीसमेत भएकाे उनकाे भनाइ छ। ‘हामीमा गणतान्त्रिक जीवनशैली विकास भएको छ र नागरिक तहमा गणतन्त्र संस्थागत भइसकेको छ। वास्तविक रूपमा गणतन्त्र अरुका अधिकारको सम्मान गर्दै आफ्ना अधिकारको उपभोग गर्ने जीवन पद्धति पनि हो। अझ, त्यसभन्दा माथि सङ्घीय लोकतान्त्रिक गणतन्त्र स्थानीय स्वायत्तता र आधारभूत विषयहरूमा स्वनिर्णयको अधिकार समेत हो। तसर्थ, यसका लाभहरूलाई आम नागरिकमा पुर्याउन सरकारले दृढतापूर्वक प्रयास गरिरहेको छ’, प्रधानमन्त्रीकाे शुभकामना सन्देशमा उल्लेख छ।