विराटनगर : मोरङको रतुवामाई नगरपालिकाले कोरोनाको महामारीमा संकलन गरेको राहत सामाग्री वितरणनै नगरी गोदाममा कुहाएर फालेको विषयलाई लिएर नेकपा एमाले र नेकपा माओवादी केन्द्रले ध्यानाकर्षण गराएका छन् ।
आइतबार दुवै दलका प्रतिनिधिहरुले छुट्टाछुट्टै रुपमा नगरपालिकाका प्रमुख नागेश्वर सिंहलाई ज्ञापन पत्र बुझाएका हुन् ।
एमाले रतुवामाई नगर कमिटीले कोरोनाको महामारीमा विभिन्न निकाय र दाताहरुबाट संकलन गरेको राहत नगरपालिकाले गोदाममै कुहाएर खोला किनारमा लगेर गाड्नु दुखद भएको बताएको छ ।
नगरपालिकामा ठुलो मात्रामा स्टोक गरेर राखिएको दाल, चामल, नुन, जैवीक मल, विउ विजन, औषधी लगायतका सामग्रीहरु मनोमानि रुपमा अवैध ढंगले रतुवा खोलाको किनारमा नगरपालिकाको जेसिवी प्रयोग गरी रातारात गाड्नु अमानवीय भएको एमालेले बताएको छ ।
एमाले रतुवामाईका अध्यक्ष देवीप्रसाद दाहालले नगर प्रमुखले उक्त सामाग्री समयमै वितरण नगरी ठुलो मात्रामा गाडेको विषयमा तीन दिन भित्र चित्त बुझ्दो जवाफ माग गरेको बताए । तोकिएको समयमा जवाफ नआए सशस्त रुपमा चरणबद्ध आन्दोनल गर्ने दाहालको चेतावनी छ ।
यस्तै माओवादीले पनि पाँचवटा माग राखेर नगर प्रमुख सिंहलाई ज्ञापनपत्र बुझाएको छ । माओवादीले कोरोना महामारीमा प्रभावित भएकाहरुलाई सहयोग गर्न उक्त सामग्री कहाँबाट कसरी प्राप्त भएको हो भन्ने विषयमा स्पष्ट पार्न माग गरेको छ ।
माओवादीका रतुवामाई अध्यक्ष प्रकाश शाहले किसानलाई वितरण गर्नुपर्ने बिउबिजन र रसायनिक मल वितरण नगरी किन नष्ट गरियो र ती सामग्री कहिले कतिमा खरिद भएका हुन भनेर नगरपालिकासँग जवाफ माग गरेको बताए । नगरपालिकाले आफूले गरेको भ्रष्टाचार लुकाउन खाद्य सामाग्री र बिउबिजन खोला किनारमा लगेर गाडेको शाहले आरोप लगाए ।
यस्तै घटनामा संलग्न जिन्सी शाखाका प्रमुखसहितका कर्मचारीमाथिसमेत छानविन गरी सत्यतथ्य सार्वजनिक गर्न, घटनाको स्वतन्त्र र निश्पक्ष छानविन गर्न सर्वपक्षीय छानविन गठन गर्न र दोषीमाथि कारवाही गर्न माओवादीले माग गरेको छ ।