विराटनगर : मोरङको रतुवामाई नगरपालिकाले कोरोनाको महामारीमा संकलन गरेको राहत सामाग्री वितरणनै नगरी गोदाममा कुहाएर फालेको तथ्य सार्वजनिक भएको छ ।
कोरोनाको महामारीमा विभिन्न निकाय र दाताहरुबाट संकलन गरेको राहत नगरपालिकाले गोदाममै कुहाएर फालेको हो ।
त्यसबेला वडागत रूपमा आएको खाद्यान्न केही मात्रामा वितरण गरेरपनि केही स्टोक गरेर नगरपालिकाले गोदाममा राखेको थियो । नगरले उक्त खाद्यान्न करिब ३ वर्ष गोदनमा स्टोक गरेर फालेको हो ।
नगरपालिकाको चरम लापरबाहीले यस्तो अवस्था आएको रतुवामाई ५ का बलबहादुर बस्नेतले बताए । बस्नेतले कोरोना कहरको बेला रतुवामाई नगरपालिकालाई ८० हजार बराबरको राहत सामाग्री सहयोग गरेका थिए ।
रतुवामाई नगरपालिकाका कृषि तथा प्रशासन शाखाका अधिकृत नरहरी निरौलाले २०७६–०७७ सालदेखि गोदाममा स्टोक रहेको सामान कुहिएपछि गाडिएको हो ।
त्यसबेला तत्कालीन मेयर रवीन राईको सिफारिसमा केही सामान वितरण गरिएको र बाँकि रहेको सामान कुहिएको नगरपालिकाका एकजना कर्मचारीले बताए । उनले भने, ‘रवीन राई मेयर हुँदा उहाँको सिफारिसमा धेरै सामान हामीले वितरण गर्यौ । केही सामान स्टोक थियो । गोदाम सफा गर्दा कुहिन थालेको पाएपछि कर्मचारीहरुको सहयोगमा डम्पिङ साइडमा लगेर गाडेका हौँ ।’
निरौलाका अनुसार गत माघको अन्तिम सातातिर रतुवामाई ७ मा रहेको डम्पिङ साइडमा लगेर उक्त सामाग्री गाडिएको हो । उनका अनुसार ८–१० बोरा चामल, १४ बोरा मल, २ बोरा नुन, ५०–६० प्याकेट तरकारीका बिऊ र नुन लगेर त्यहाँ गाडिएको थियो ।
तर स्थानीयहरुले भने निरौलाले बताएभन्दा ठूलो मात्रामा खाद्य सामाग्री गाडिएको बताएका छन् । उक्त गाडिएको सामान शुक्रबार स्थानीयहरुले उत्खनन गरेर बाहिर निकालेका छन् ।
नगरपालिकाले कसैलाई जानकारी नगराई विदाको दिन लगेर सामान गाड्नु शंकास्पद भएको स्थानीयहरुको भनाई छ ।