विराटनगर : मोरङको रतुवामाईमा तस्कारले ढुङ्गा प्रहार गर्दा एक जना प्रहरी हवल्दार घाइते भएका छन् ।
भारतबाट साइकलमा लोड गरी रतुवामाई –१ सोनापुर तर्फ अवैध रूपमा ल्याउँदै गरेको धानको बीउ नियन्त्रणमा लिने क्रममा सशस्त्र प्रहरी हवल्दार युवराज तामाङ घाइते भएका हुन् ।
इलाका प्रहरी कार्यालय सिंजुवाले दिएको जानकारी अनुसार बिहीबार बिहान ५ बजेतिर भारततर्फ बाट अवैध सामग्री आउँदै गरेको देखेपछि सीमा सुरक्षा गुल्म वरडङ्गाका सशस्त्र प्रहरी हवल्दार तामाङले नियन्त्रणको प्रयास गरेका थिए ।
नियन्त्रणको प्रयास गरेपछि रतुवामाई १ बस्ने सदिल मियाँको छोरा सावर मियाँले उनीमाथि ढुङ्गा प्रहार गरेका थिए । ढुङ्गा प्रहार गरेर भागेको सावर मियाँको समूह भारत तर्फ लागेको छ । प्रहरी हवल्दार तामाङ भने ढुङ्गा लागेर घाइते भएका छन् ।
फरार रहेकाहरुको खोजी कार्य जारी रहेको प्रहरीले जनाएको छ ।