विराटनगर : नेकपा एमालेका पोलिटब्युरो सदस्य महेश बस्नेतविरुद्ध प्रहरीमा जाहेरी दर्ता भएको छ । बस्नेतविरुद्ध फौजदारी कसुरमा जिल्ला प्रहरी परिसर काठमाडौँमा जाहेरी दर्ता भएको हो ।
प्रहरीका अनुसार एमालेमै आवद्ध एक युवतीले उनीविरुद्ध बलात्कार, भ्रूण हत्या र डाँका चोरी आरोपमा जाहेरी दिएकी हुन् ।
जिल्ला प्रहरी परिसर काठमाडौंका प्रमुख, एसएसपी भूपेन्द्र खत्रीले हुलाकमार्फत आएको जाहेरी दर्ता गरिसकेको बताए ।
ती महिलाले आफूलाई बस्नेतले पटक पटक बलात्कार गरेर भ्रूण हत्या गर्न बाध्य पारेको आरोप लगाएकी छन् । उनले काठमाडौं महानगरपालिका–१० बिजुलीबजारस्थित सनसाइन अपार्टमेन्ट र भारतमासमेत बलात्कार गरेको दाबी गरेकी छन् ।
ती महिलाले बस्नेतविरुद्ध डाँका चोरीको पनि आरोप लगाएकी छन् । गत फागुन ८ गते बिजुली बजारस्थित अपार्टमेन्टमा छिरेर डाँका चोरी गरेको आरोप पनि उनले लगाएकी छन् ।