Online Nepal
बिहिबार, कार्तिक ६ २०८३

स्वास्थ्यकर्मी लिएर जेष्ठ नागरिकको घरघरमा विराटनगर ८ का जनप्रतिनिधि



विराटनगर : विराटनगर महानगरपालिका वडा नं. ८ ले वडाका जेष्ठ नागरिकको स्वास्थ्य अवस्था बुझ्न घरघरमा पुग्ने अभियान सुरु गरेको छ ।

आइतबारदेखि स्वास्थ्यकर्मीसहित वडाका जनप्रतिनिधिहरुले जेष्ठ नागरिकको घरघरमा पुगेर स्वास्थ्य अवस्था बुझ्ने कार्यको सुरुवात गरेका हुन् ।

वडा कार्यालयले स्वास्थ्यकर्मीको परामर्शका आधारमा औषधि लगायतका सामग्रीहरु पनि वितरण गरेको छ । कार्यक्रमको विराटनगर महानगरपालिका उपप्रमुख शिल्पा निराला कार्कीले शुभारम्भ गरेकी थिइन् । उनले विराटनगर ८ अमरटोलीका १०४ वर्षीया नन्दकुमारी पौडेलको घरबाट अभियानको सुरु गरिन् ।

८० वर्ष भन्दा माथिका जेष्ठ नागरिकलाई लक्षित गरि वडा कार्यालयले औषधि, पौष्टिक आहार, स्वास्थ्य परीक्षण, स्वास्थ्य सामग्री लगायतका सामानहरु घर–घरमा वितरण सुरु गरेको वडाध्यक्ष राम पोखरेलले जानकारी दिए । वडा भित्र रहेका ८० वर्ष माथिका जेष्ठ नागरिकको लगत संकलन गरि १३५ जना लक्षित पहिलो चरणको कार्यक्रम शुरु गरिएको उनले बताए ।

आगामी आर्थिक वर्षदेखि उमेर समूहले विस्तारै घटाउँदै लगिने वडाध्यक्ष पोखरेलको भनाई छ ।

जेष्ठ नागरिकहरुलाई ग्याष्ट्रिक, रक्तचाप, मधुमेह, दुखाई कम गर्ने औषधि, रक्तचाप, मधुमेहको परीक्षण, हर्लिक्स, झुल, स्टिल लौरो, चार्जेवल लाईट वितरण गरिएको छ ।

कार्यक्रममा वडाध्यक्ष पोखरेल, वडासदस्यहरु ताराकुमारी राय, पवित्रा विक, भुवन राजवंशी, मोहम्वत अब्बास, वडासचिव मनोज मल्लिक, स्वास्थ्य कर्मचारी, स्वास्थ्य स्वयंसेविकाको सहभागिता रहेको थियो ।

प्रतिक्रिया
सम्बन्धित समाचार