धरान : सुनसरीको धरानमा एक किशोरीको शव फेला परेको छ । धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान नजिकै बुधबार बेलुका किशोरीको शव फेला परेको हो ।
जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रवक्ता एवम् प्रहरी नायव उपरीक्षक नवीनकृष्ण भण्डारीका अनुसार प्रतिष्ठान र डिपोट स्कुलको बिचको खोल्सामा अन्दाजी १८–१९ वर्षकी किशोरीको शव फेला परेको हो । हालसम्म शवको पहिचान खुल्न नसकेको र घटनाबारे अनुसन्धान भइरहेको उनले बताए ।
प्रवक्ता भण्डारीका अनुसार धारिलो हतियारले घाँटी रेटिएको अवस्था शव फेला परेको छ । शव खोल्सामा घोप्टो अवस्थामा भेटिएको उनको भनाइ छ । प्रहरीले शव नजिकै खुकुरी सेमत फेला पारेको छ ।
इलाका प्रहरी कार्यालय धरानका प्रमुख डीएसपी नवराज मल्लका अनुसार युवती धरानकै एक कलेजमा कक्षा १२ मा अध्ययनरत थिइन्। ‘उनको हत्या कसरले किन गर्यो खुलेको छैन,’ मल्लले भने, ‘हामीले सुस्म ढंगले थप अनुसन्धान अघि बढाएका छौँ। मृतक युवतीका अभिभावक आज जाहेरी लिएर यहाँ आउँदै हुनुहुन्छ।’
युवतीको शव पोस्टमार्टमका लागि बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा राखिएको छ। प्रहरीले तालिमप्राप्त कुकुरको सहायतामा घटनाको थप अनुसन्धान अघि बढाइएको जनाएको छ।