Online Nepal
बिहिबार, कार्तिक ६ २०८३

विराट गोल्डकप चैत १५ गतेदेखि, पुरस्कारको राशी घटाइयो



कैलाश चापागाईं, विराटनगर : पूर्वको प्रतिष्ठित फुटबल प्रतियोगिता विराट गोल्डकप आगामी चैत १५ गतेदेखि सुरु हुने भएको छ । त्यसका लागि आयोजकले गोल्डकपको तयारी तीव्र पारेको छ ।

विराटनगरको शहीद रंगशालामा चैत १५ गतेदेखि २४ गतेसम्म आयोजना हुने गोल्डकपका लागि रंगशाला मर्मतको काम भइरहेको आयोजकले जनाएको छ ।

आयोजक विराट गोल्डकप ट्रष्टका अध्यक्ष किशोरबहादुर शाहीका अनुसार प्रतियोगिताका सबै खेलहरु रात्रिकालीन हुनेछन् । प्रतियोगितामा सात नेपाली र तीन विदेशी टिमको सहभागिता रहने उनले बताए ।

प्रतियोगितामा भारतको साउथर्न समिति फुटबल क्लब कोलकाता, सिक्किम ड्रागन क्लब, भुटानको आरटीसी क्लब थिम्पु तथा नेपालका त्रिभुवन आर्मी, नेपाल पुलिस, एपीएफ, मच्छिन्द्र, एनआरटी, चर्च ब्वाईज क्लब र सांग्रिला मोरङ एफसीले सहभागिता जनाउने छन् ।

शाहीले प्रतियोगितामा १ करोड १८ लाख ४३ हजार २ सय रुपैयाँ खर्च हुने अनुमान गरिएको बताए ।

पुरस्कारको राशी घटाइयो
यसवर्षको प्रतियोगितामा पुरस्कारको राशी भने घटाइएको छ । गत वर्षको तुलनामा झन्डै दोब्बर रकम घटाइएको हो ।

गोल्डकप ट्रष्टका अध्यक्ष शाहीका अनुसार यस वर्षको विजेताले ११ लाख र उपविजेताले ५ लाख ५० हजार रुपैयाँ पुरस्कार प्राप्त गर्नेछन् । गत वर्षको उपाधि विजेतालाई २० लाख १५ हजार र उपविजेतालाई १० लाख ५१ हजार रुपैयाँ प्रदान गरिएको थियो ।

आर्थिक मन्दीका कारण पुरस्कार घटाइएको आयोजकले जनाएको छ ।

यस्तै प्रत्येक खेलको उत्कृष्ट खेलाडीलाई ११ हजार रुपैयाँ प्रदान गरिनेछ । त्यसबाहेक उत्कृष्ट प्रशिक्षक, गोलरक्षक, सर्वाधिक गोलकर्तालाई जनही २१ हजारका दरले प्रदान गरिने शाहीले बताए । प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडीलाई यो वर्ष मोटरसाइकल प्रदान गरिने भएको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार