Online Nepal
बिहिबार, कार्तिक ६ २०८३

मोरङमा जङ्गली हात्तीको आक्रमणबाट दुई जना घाइते



विराटनगर : मोरङको सुन्दरहरैँचा नगरपालिकामा जङ्गली हात्तीको आक्रमणमा परी दुई जना घाइते भएका छन् ।

हात्तीको आक्रमणबाट सुन्दरहरैँचा-६ का ५० वर्षीय रामकुमार श्रेष्ठ र १९ वर्षीय सन्तोष राय घाइते भएको मोरङ प्रहरीका प्रवक्ता डीएसपी रन्जनकुमार दाहालले जानकारी दिए ।

घाँस काट्न शिवम् साझेदारी वनमा गएका बेला उनीहरूलाई हात्तीले आक्रमण गरेको हो । जङ्गलमा घाँस काट्ने क्रममा हात्तीसँग जम्काभेट हुँदा श्रेष्ठ र रायलाई आइतबार साँझ ५ बजेतिर हात्तीले आक्रमण गरेको थियो ।

हात्तीले श्रेष्ठको खुट्टामा कुल्चिएको र रायलाई सुँडले हानेको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार घाइते श्रेष्ठको धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान र रायको विराटनगरस्थित नोबेल शिक्षण अस्पतालमा उपचार भइरहेको छ ।

सुन्दरहरैँचा क्षेत्रमा १५/२० वटाको संख्यामा हात्ती रहेको स्थानीयले बताएका छन् ।

प्रतिक्रिया
सम्बन्धित समाचार