विराटनगर : मोरङको पथरीशनिश्चरे- ७ लामाटोलीमा १५ वर्षीय किशोरी हत्यामा संलग्न रहेको आरोपमा पक्राउ परेका धीरेन्द्र चौधरीलाई प्रहरीले सार्वजनिक गरेकाे छ। जिल्ला प्रहरी कार्यालय माेरङले मंगलबार दिउँसाे पत्रकार सम्मेलन गरी चौधरीलाई सार्वजनिक गरेको हो ।
गएराति १० : ३० बजेको समयमा १५ वर्षीय किशोरी ज्ञानमति राईको धारिलो हतियार प्रहार गरी हत्या भएको थियो। पञ्चायत मा.वि. पथरीमा कक्षा ७ मा अध्ययनरत राई शौचालय जाने क्रममा हत्या भएको थियाे।
घटनापछि अनुसन्धानका लागि तत्काल ईलाका प्रहरी कार्यालय पथरीबाट टोली परिचालन गरिएको थियो । त्यसलगत्तै थप अनुसन्धान गर्न जिल्ला प्रहरी कार्यालय मोरङका एसपी नवराज कार्कीको कमान्डमा टोली परिचालन भएको प्रहरीले जनाएको छ ।
मोरङका एसपी कार्कीका अनुसार अनुसन्धानमा तालिम प्राप्त कुकुरको पनि परिचालन गरिएको थियोे ।
प्रहरीका अनुसार चौधरी र राई केही वर्षयता प्रेममा रहेको अनुसन्धानबाट खुलेको कार्कीले बताए । उनीहरु एक पटक घरबाट भागेर जोगबनी पुगेपछि गैरसरकारी संस्थाले उद्धार गरेर नेपाल घर फर्काएको थियोे ।
सोमबारको घटनापछि फरार रहेका चौधरीलाई बेलबारीको भाउन्नेस्थित जंगलबाट पक्राउ गरिएको हो । घटना सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले बताएको छ ।