विराटनगर : मोरङको पथरीमा १५ वर्षीया बालिकाको हत्या भएको छ । सोमबार राति १०:३० बजेतिर पथरीशनिश्चरे नगरपालिका ८ स्थित लामा टोलीमा १५ वर्षीया ज्ञानमति थुलुङ राईको हत्या भएको हो ।
मोरङ प्रहरीका अनुसार उनको सौचालय जाँदा हत्या भएको पाइएको छ । राईको घरकै कम्पान्डभित्र हत्या भएको छ ।
धारिलो हतियार प्रहार गरि हत्या भएको अनुसन्धानबाट खुलेको मोरङ प्रहरीका प्रवक्ता डीएसपी रन्जनकुमार दाहालले जानकारी दिए ।
बालिकालाई पछाडिबाट पटकपटक हतियार प्रयोग गरेको देखिएको उनलेे बताए । उनको गर्धन, अनुहार र दाहिने पाखुरामा चोट लागेको डीएसपी दाहालले बताए ।
प्रहरीका अनुसार घटनामा संलग्नको पहिचान हुन सकिरहेको छैन। घटनाको अनुसन्धानका लागि मोरङ प्रहरी प्रमुख एसपी नवराज कार्की नेतृत्वको टोली घटनास्थलमा खटिएको छ।
प्रहरीले घटनाको अनुसन्धानमा तालिमप्राप्त कुकुरको समेत प्रयोग गरेको छ। तर, हालसम्म हत्यामा संलग्न र घटनाका बारेमा थप सूचना एवं जानकारी प्राप्त हुन नसकेको डिएसपी दाहालले बताए।
खोटाङको ऐसेलुखर्क गाउँपालिकाको सल्ले घर भएकी ज्ञानमति पथरीमा मामाको छोराको घरमा बसेर पढ्दै आएकी थिइन् ।
उनी स्थानीय पञ्चायत माविमा कक्षा ७ मा अध्ययनरत थिइन् ।