Online Nepal
बिहिबार, कार्तिक ६ २०८३

फाइनलमा पुग्न नामिबियालाई जित्नै पर्ने दबाबमा नेपाल



काठमाडौँ : घरेलु मैदानमा जारी त्रिकोणात्मक टी–२० आई सिरिजमा नेपालले आज नामिबियाको सामना गर्दैछ । नेपाल र नामिबियाबीचको खेल बिहान साढे ११ बजे कीर्तिपुरस्थित त्रिवि मैदानमा सुरु हुनेछ ।

जारी श्रृंखलामा नेपाल पहिलो जितको खोजीमा छ । नेपालले पहिलो खेलमा नामिबियासँग २० रन तथा दोस्रो म्याचमा नेदरल्याण्ड्सविरुद्ध २ रनको हार बेहोरेको थियो। फाइनल सम्भावना कायमै राख्न नेपाल आज जित्नैपर्ने दबाबमा छ, अन्यथा नेपाल एक खेल अगावै फाइनल दौडबाट बाहिरिनेछ ।

यता पाहुना टिम नामिबिया नेपाललाई हराउँदै एक खेलअघि नै फाइनलको यात्रा गर्ने योजनामा छ । उसले पहिलो खेलमा नेपाललाई हराउँदा दोस्रो म्याचमा नेदरल्याण्ड्सविरुद्ध ५९ रनको पराजय बेहोर्‍यो ।

यस श्रृंखलामा नेपाल फिनिसिङमा चुकिरहेको छ । बुधबार नेदरल्याण्ड्सविरुद्ध जित नजिक पुगेको नेपालले अन्तिममा अप्रत्यासित तरिकाले विकेट गुमाएर हार बेहार्‍यो । यस्तै, नेपाल पहिलो खेलमा पनि कमजोर फिनिसिङका कारण पराजित हुन पुगेको थियो ।

नेपाल पछिल्लो दुई खेलमा गरेको गल्ती सुधार गर्दै शुक्रबार उत्कृष्ट कमब्याकको योजनामा छ । त्यसका लागि नेपालले उत्कृष्ट अलराउन्ड प्रदर्शन गर्नुको विकल्प छैन ।

प्रतिक्रिया
सम्बन्धित समाचार