विराटनगर : मोरङको सुनवर्षी नगरपालिकाले निःशुल्क कोरियन भाषा प्रशिक्षण कक्षा सञ्चालन गर्ने भएको छ । नगरपालिकाले सूचना जारी गरेर पालिकाभित्रका युवाहरुका लागि प्रशिक्षण कक्षा सञ्चालन गर्ने जनाएको छ ।
सूचनामा नगरपालिका कार्यालयमा वा सम्बन्धित वडा कार्यालय मार्फत फागुन २५ गतेभित्र सम्पर्क गर्न आह्वान गरिएको छ ।
कोरियन भाषा पढ्न चाहने सुनवर्षीका युवाहरुले नागरिकता, शैक्षिक योग्यताको फोटोकपी, पासपोर्ट साइजको ३ वटा फोटो र वडा कार्यालयबाट वार्षिक आय प्रमाणित गरेको सिफारिससहित पालिकामा वा वडा कार्यालयमा सम्पर्क गर्नुपर्ने छ ।
तालिमका लागि प्रशिक्षार्थी छनोट गर्दा कमजोर आर्थिक अवस्था भएको, शैक्षिक योग्यताक्रम, विदेशबाट फर्किएका र स्वदेशमै रोजगार गर्न इच्छुकलाई प्राथमिकता दिने उल्लेख छ ।
सुनवर्षीमा कोरियन भाषाको कक्षा सञ्चालन नहुँदा पालिकाका युवाहरु अन्य ठाउँमा जानुपर्ने बाध्यता भएकाले नगरपालिकाले नै प्रशिक्षण दिन लागेको नगर प्रमुख श्याम राजवंशीले जानकारी दिए । नगरपालिकाले उद्धेश्य युवाहरुलाई विदेश पठाउन प्रोत्साहन गर्ने नभई पढ्नका लागि टाढा जानुपर्ने समस्याको समाधान गर्न भएको उनको भनाइ छ ।