फाइल फोटो
रतुवामाई : मोरङ क्षेत्र नम्बर २ का सांसद ऋषिकेश पोखरेलले विद्यार्थी जीवनमा खेल र पढाई उत्तिकै महत्वपूर्ण भएको बताएका छन् ।
मंगलबार रतुवामाई नगरपालिका स्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको समापन तथा सरस्वती माध्यमिक विद्यालयको ५४ औँ वार्षिकोत्सव कार्यक्रममा बोल्दै पोखरेलले यस्तो बताएका हुन् ।
सार्वजनिक लेखा समिति सभापतिसमेत रहेका पोखरेलले विद्यार्थीको शारीरिक, मानसिक, सामाजिक र बौद्धिक विकासमा खेलकुदले सहयोग पुर्याउने बताए ।
पोखरेलले प्रतियोगितामा विजेता बनेका विद्यार्थीहरुलाई बधाई दिँदै भने, ‘एउटा कुशल, अनुशासित, स्वस्थ शरीर र स्वस्थ मस्तिष्क भएका जनशक्ति उत्पादनमा खेल क्षेत्रको भूमिका रहन्छ । विद्यालय तहको पाठ्यक्रममा समावेश गरिएका खेलहरु र त्यसका अतिरिक्त खेलहरुलाई सैद्धान्तिक, व्यवहारिक र प्रयोगात्मक क्रियाकलापहरु अनुसार अगाडी बढाउनुपर्छ ।’
सोही अवसरमा विद्यालयले विभिन्न व्यक्तिहरुलाई सम्मान समेत गरेको छ । विद्यालयका पूर्व विद्यार्थीसमेत रहेका मोरङका प्रमुख जिल्ला अधिकारी प्रेम प्रसाद भट्टराई, विद्यालयकी सहायक प्रधानाध्यापक कञ्चनमादा देवकोटा र विद्यालयका शिक्षक अभिभावक संघका अध्यक्ष मुन्सी मर्डीलाई सम्मान गरिएको हो । उनीहरुलाई प्रमुख अतिथि पोखरेलले दोसल्ला ओढाएर प्रमाणपत्र प्रदान गरेका थिए ।