विराटनगर । जीवन विकास विशेषज्ञ तथा जीवन विज्ञानका संस्थापक रमेश नेपालले मानिसका हरेक समस्याको जड चेतनाको व्यवस्थापन भएको बताउँदै ध्यानका माध्यमबाट त्यसको समाधान गर्न सकिने बताएका छन् ।
कर्मचारी मिलन केन्द्र मोरङको आयोजनामा सोमबार विराटनगरमा भएको ‘सकारात्मक जीवन शैली’ कार्यक्रममा प्रशिक्षणा दिदै नेपालले मानिसका हरेक सुख दुःख उस्को मनस्थितिमा भर पर्ने भएकाले मनस्थिति सकारात्मक राख्न ध्यान आवश्यक रहेको बताए । मानिसमा रहेका भावना, संवेदना, विचारको सन्तुलनका लागि शरीर भित्र रहेका सातओटा उर्जा केन्द्रलाई सक्रिय र सन्तुलित बनाउनु पर्ने बताउदै जीवन विज्ञानले अध्यात्मका माध्यमबाट मानिसको जीवनशैली सन्तुलित र सकारात्मक बनाउन कार्य गरिरहेको बताए । मानिस भित्र बीजका रुपमा रहेका सातओटा सम्भावनालाई जगाउन व्यवहारिक अभ्यास आवश्यक रहेको बताउदै जीवन विज्ञानले त्यसको प्रयोग गर्दै आएको उनको भनाइ छ ।
कार्यक्रममा मोरङका प्रमुख जिल्ला अधिकारी प्रेमप्रसाद भट्टाईले स्वागत मन्तव्य राखेका थिए । भने चार सयजना बढीको सहभागिता थियो ।
यसअघि सोमबार नै बाल कल्याण विद्या मन्दिरमा भएको ‘अध्यात्म र शिक्षा’ विषयक कार्यक्रममा बोल्दै जीवन विकास विशेषज्ञ नेपालले विद्यालयहरुले विद्यार्थीलाई मनको व्यवस्थापन गर्ने कला सिकाउनु पर्ने बताए । उनले विद्यार्थीलाई खुसी हुने कला सिकाउनु आवश्यक रहेको भन्दै त्यसका लागि विद्यालयहरुले अध्यात्मको व्यवहारिक प्रयोग गर्न सिकाउनुपर्ने दर्शाए ।
विद्यार्थीमा रहेको प्रतिभा बाहिर ल्याउनका लागि मानवमा भएका सम्भावनामा काम गर्नुपर्ने औल्याउदै नेपालले जीवन विज्ञानले मानिसमा भएको क्षमता र खुसी उत्खनन गर्न बृहतरुपमा चक्र विज्ञान कार्यक्रम आयोजना गर्न लागिएको बताए । चक्रको रूपमा रहेको सात सम्भावनाहरू जगाउन आफूभित्र रहेको जीवन उर्जा जगाउनु पर्ने मार्ग निर्देशन प्रदान गर्दै ‘बुद्धको ज्ञान, लुम्बिनीमा ध्यान’ भन्ने नाराका साथ आउँदो चैत्र १७ गतेदेखि ५ हजार १ जनाको सहभागीतामा लुम्बिनीमा हुने विराट चक्र विज्ञानमा सहभागी हुन आग्रह गरे ।
