विराटनगर । विराटनगर– ५ स्थित एभरेष्ट स्कुलले आयोजना गरेको एभरेष्ट कार्निभल २.० आज सकिएको छ ।
५ फागुनदेखि सुरु भएको कार्निभल आज विधि कार्यक्रमका साथ सम्पन्न भएको हो । एभरेष्ट कलेजको फुटबल मैदानमा आयोजित कार्यक्रममा कक्षा ६ देखि १२ सम्मका विद्यार्थीहरुले आफूहरुले सिकेका विज्ञानसम्बन्धि विभिन्न अन्वेशणहरुलाई प्रदर्शनीमा राखेका थिए । अभिभावकलाई सम्बन्धित परियोजनाहरुको विषयमा जानकारी गराउँदै विभिन्न खेल खेलाएर मनोरञ्जन प्रदान गरेका थिए । रोबर्ट, अटोमेटिक सेन्सरयुक्त कारदेखि लिएर एण्टि थेप्ट साइरन, आगलागि सम्बन्धि जानकारी दिने उपकरण जस्ता उपकरणहरु प्रर्दशनीमा राखिएको थियो ।
विभिन्न ३५ वटा स्टलमा विद्यार्थीहरुले आ–आफ्ना समूहगत परियोजनाहरु प्रदर्शनीमा राखेका थिए भने, करिब ५ हजार भन्दा बढीको संख्यामा उपस्थित अभिभावकहरु बालबालिकाको प्रतिभा अवलोकन गर्दै मनोरञ्जन लिइरहेका थिए । अवलोकनपछि अभिभावक मन्दिरा थापाले विद्यार्थीहरुले सिकेका कुराहरुको प्रदर्शनी गर्दै अभिभावकहरुलाई गरेको ब्रिफिङले उनीहरुमा आत्मविश्वास बढाउने विश्वास व्यक्त गरिन । बालबालिकाका विभिन्न परियोजना कार्यहरु, सांस्कृतिक कार्यक्रम र गायन, तथा नृत्य हेर्दा एभरेष्ट स्कुलले बालबालिकाको सर्वाङ्गिण विकासमा ध्यान दिएको अनुभूति भएको उनको प्रतिक्रिया थियो ।
यस्तै कार्निभलको दुई दिन नै सहभागिता जनाउनुभएका अभिभावक विशाल श्रेष्ठले कार्निभललाई विद्यार्थीहरुको लागि एउटा आफ्नो क्षमता अभिभवृद्धिका लागि अवसरको रुपमा आफुले बुझेको बताए । उनले भने, कार्निभल विद्यार्थीहरुको लागि नयाँ कुरा सिक्ने र बुझ्ने प्लेटफर्मको रुपमा लिन सकिन्छ, यस्ले विद्यार्थीहरुको मनोबल बढाउन समेत सहयोग गर्छ ।’
श्रेयांश, आरोही र युनिशालाई एभरेष्ट सिङ्गिङ आइडल २०८० को उपाधि
एभरेष्ट स्कुलमा जारी एभरेष्ट सिङ्गिङ आइडलको ग्राण्ड फिनाले २०८० आज सम्पन्न भएको छ ।
एभरेष्ट कार्निभल २.० को समापन समारोहमा सिङ्गिङ आइडलको ग्राण्ड फिनाले सम्पन्न भएको हो । संगितकार तथा गायक रामा मण्डल र गायीका गंगा गौतम निर्णायक रहेको ग्राण्ड फिनालेमा तीन समूहबाट तीन जना विजेता भएका छन् । कक्षा १ देखि ५ सम्मको समूहबाट कक्षा ५ का श्रेयांश खड्काले उपाधि जिते भने सोहि कक्षाका निपुन काफ्ले द्वितीय र कक्षा ३ का आर्यमन दुलाल तेस्रो भए ।
यस्तै कक्षा ६ देखि ८ को समूहबाट कक्षा ६ की आरोही तिम्सिना प्रथम, कक्षा ८ कृषा पोखरेल द्वितीय र कक्षा ६ शिवम् पगैया तृृतीय भए । कक्षा ९ देखि १२ सम्मको समूहबाट कक्षा ९ की युनिशा न्यौपानेले उपाधि जितिन् । कक्षा १२ की आर्या गुभाजु द्वितीय हुँदा कक्षा ९ की स्मारिका आचार्य तृतीय भए ।
तीनवटै समूहका प्रथम द्वितीय र तृतीयले क्रमशः १० हजार, ७ हजार र ५ हजार रुपैयाँ नगदसहित ट्रफि प्राप्त गरेका छन् । ग्राण्ड फिनालेमा निर्णायकद्वय मण्डल र गौतमले समेत आ–आफ्ना प्रस्तुतीहरु राखेर विद्यार्थी, अभिभावक तथा उपस्थितहरुलाई मनोरञ्जन प्रदान गरेका थिए । विद्यार्थीहरुले विभिन्न नृत्य समेत प्रस्तुत गरेका थिए ।