विराटनगर : लुम्बिनी विकास कोषले रामग्राम क्षेत्रमा निजी कम्पनी द प्रमिस्ड ल्यान्डसँग गरिएका सबै सम्झौता खारेज गरेको छ ।
कोषका अध्यक्ष एवम् संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किराँतीको अध्यक्षतामा मंगलबार बसेको कार्यकारिणी समिति बैठकले रामग्राम क्षेत्रमा प्रमिस्ड ल्यान्डसँग गरिएका सम्झौतालगायत सबै कार्य खारेज गर्ने निर्णय गरेको हो ।
संघीय संसदअन्तर्गतको सार्वजनिक लेखा समितिको २८ माघको निर्देशन कार्यान्वयन गर्दै कोषले ती सम्झौता तथा कार्य खारेज गरेको हो । लेखा समितिले रामग्राम क्षेत्रमा गरिएका सबै सम्झौता खारेज गर्न निर्देशन दिएको थियो ।
पर्यटनमन्त्री किरातीको निर्देशनमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’का घरबेटी सारदा अधिकारीको उक्त कम्पनीलाई रामग्राम क्षेत्रको ११३ बिगा क्षेत्र विना प्रतिस्पर्धा ९९ वर्षका लागि लिजमा दिने निर्णय गरेको थियो।
यसअघि समितिले सम्झौतामाथि प्रश्न उठाउँदै संबद्ध कागजात उपलब्ध गराउन निर्देशन दिएको थियो।
