विराटनगर : मोरङको सुनवर्षी र कानेपोखरीमा आगलागी हुँदा ८० लाखभन्दा बढीको क्षति भएको छ । सोमबार राति दुई पालिकाका दुई घरमा आगलागी भएको हो ।
मोरङ प्रहरीका अनुसार सुनवर्षी नगरपालिका–१ कालाबन्जारस्थित आशिष थापाको घरमा आगलागी हुँदा ५० लाख बराबरको क्षति भएको छ । आगोले घरसहित घरमा रहेको ३ लाख नगद, ४ तोला सुन, अन्नपात, लत्ताकपडा, फर्निचरका सामानलगायत जलेर ध्वस्त भएको प्रहरीले जनाएको छ । आगोले २ तले पक्की घर पूर्णरूपमा जलेको छ ।
यसैगरी कानेपोखरी गाउँपालिका–२ बहत्तरबिघेस्थित अर्जुन विष्टको घरमा आगो लाग्दा ४ कोठे पक्की घरसहित लत्ताकपडा, काठपात, ६ तोला सुन, १८ हजार नगद, ६५ मन धान, ग्वाली, एउटा खसी र ६ वटा बाख्रा जलेको प्रहरीले जनाएको छ ।
बिष्टको घरमा भएको आगलागीमा ३१ लाख १८ हजार बराबरको क्षति भएको इलाका प्रहरी कार्यालय पथरीका डीएसपी गणेश श्रेष्ठले जानकारी दिए ।
आगलागीबाट कुनै मानवीय क्षति भने भएको छैन् । प्रहरीले दमकल र स्थानीयको सहयोगमा आगो नियन्त्रणमा लिएको थियो ।